— हावाहुरी, पानी र विभिन्न अवस्थामा छिनछिनमा विद्युत आउने/जाने (ट्रिपिङ) गरे पनि गत आर्थिक वर्षको तुलनामा उल्लेख्य मात्रामा घटेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्रसारण तथा वितरण लाइन र सबस्टेसन सुदृढीकरणसँगै प्राविधिक समस्या देखिएका ठाउँमा तत्काल गरिएको सुधारलगायतका कारण ट्रिपिङ समस्या घटिरहेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयको तथ्यांकअनुसार विद्युत ट्रिपिङको दर र बिजुली अवरुद्ध समय उल्लेख्य मात्रामा घटेको हो । आर्थिक वर्ष २०८१/०८२ को तुलनामा आर्थिक वर्ष २०८२/०८३ मा सबै प्रदेश र केन्द्रमा छिनछिनमा विद्युत जाने (ट्रिपिङ) दर र बिजुली अवरुद्धको समय उल्लेख्य मात्रामा घटेको प्राधिकरणको तथ्यांकले देखाएको छ ।
प्रसारण तथा वितरण लाइन र सबस्टेसन सुदृढीकरणसँगै प्राविधिक समस्या देखिएका ठाउँमा तत्काल गरिएको सुधारलगायतका कारण ट्रिपिङ समस्या घटिरहेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।
तथ्यांकले नै बिजुलीको विश्वसनीयता उल्लेख्य वृद्धि भएको देखाउने उनको भनाइ छ । गत आर्थिक वर्षको फागुनमा ६६.३२ पटक ट्रिपिङ भएको थियो । उक्त अवधिमा ३२.१७ घण्टा विद्युत अवरोध भएको थियो ।
चालु आर्थिक वर्षको फागुनमा ४७.७१ पटक मात्रै ट्रिपिङ भएको प्राधिकरणको तथ्यांक छ । फागुनमा ट्रिपिङ हुँदा १२.५५ घण्टा मात्रै विद्युत अवरोध भएको छ । चालु आर्थिक वर्ष सबैभन्दा बढी साउन र भदौमा ट्रिपिङ र बिजुली अवरुद्धको अवधि दुवै सबैभन्दा धेरै छ ।
साउनमा १२६ पटक ट्रिपिङ हुँदा ४४.८७ घण्टा बिजुली अवरोध भएको थियो । भदौमा ११५.१५ पटक ट्रिपिङ हुँदा ४१.३८ घण्टा बिजुली अवरुद्ध भएको थियो ।
विद्युतको ट्रिपिङ दर र रोकावटको समय दुवै घट्दा त्यसले विद्युत ग्राहकलाई राहत भएको शाक्यको भनाइ छ । ‘एकपटक पनि बिजुली जाँदैन भन्न सकिन्न । यो एकैपटक पनि हुँदैन । बिस्तारै हुन्छ,’ उनले भने, ‘पहिलाको तुलनामा बिजुलीको गुणस्तर वृद्धि भएको छ, विद्युतीय उपकरण प्रयोग बढाउन आग्रह गर्छौं ।’ पश्चिम एसियामा जारी द्वन्द्वका कारण पेट्रोलियम पदार्थ र ग्यास आयातमा असर पर्ने भनिरहँदा शाक्यले विद्युतीय उपकरण प्रयोग बढाउन उपभोक्तालाई आग्रह गरे ।
प्राधिकरणले पछिल्लो समय प्राविधिक सुधार, प्रणालीगत सुधार, दक्ष जनशक्तिलाई तालिमसहित मर्मत सुधारमा अहोरात्र खटाएर गरेको व्यवस्थापनका कारण यो सम्भव भएको शाक्य बताउँछन् । ट्रिपिङ बढी हुने सबस्टेसनको पहिचान गरी सुधार गर्ने, त्यहाँको लोड अन्यत्र सार्नेलगायतका काममा प्राधिकरण निरन्तर खटिरहेको समेत उनको भनाइ छ ।