मुख्य समाचार
क्षयरोग नियन्त्रण अभियान
क्षयरोग नियन्त्रण अभियान

— सन् २०३५ सम्म नेपाललाई क्षयरोगमुक्त बनाउन सरकारले थालेको कार्ययोजना अनुसार क्षयरोग नियन्त्रणका लागि प्रत्येक वर्ष स्वास्थ्य सेवा कार्यालय, स्थानीय तह र संघसंस्थाहरुले सचेतनामूलकलगायत विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

जिल्लामा सामूहिक रुपमा क्षयरोग पहिचान र उपचारका लागि ५८ स्थानमा डट्स सेन्टर, ५ स्थानमा डिएमसी सेवा र जिल्ला अस्पतालमा एक जना विज्ञले सेवा दिइरहेका छन् । कपुरकोट गाउँपालिका र शारदा नगरपालिकामा ‘टिबी फ्रि’ कार्यक्रम नै संचालन गरिएको छ । विश्व क्षयरोग दिवका अवसर पारेर प्रत्येक वर्ष परीक्षण शिविर संचालन पनि हुने गरेको छ ।

स्वास्थ्य सेवा कार्यालय, स्थानीय तह र संघसंस्थाहरुले क्षयरोग निवारणका लागि विभिन्न किसिमका सेवा दिँदै आए पनि स्वास्थ्य सम्बन्धी सचेतनाको अभावका साथै विरामीले रोग लुकाउने प्रवृतिले नियन्त्रणमा आउन सकेको छैन ।

स्वास्थ्य सेवा कार्यालय सल्यान, स्थानीय तह र विराट नेपाल मेडिकल ट्रष्टले विभिन्न कार्यक्रम गर्ने मात्र नभई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि सेवन गराउँदै आएका छन् । तर रोग नियन्त्रणमा आउने भन्दा बढ्दै गएको छ । सीमित क्षेक्रमा हुने कार्यत्रम तथा शिविरले दुर्गमका बासिन्दा सचेतनाबाट बन्चित हुने मात्र नभई अवस्था गम्भीर नहुँदासम्म उपचारका लागि अस्पताल नजाने गर्दा कार्यक्रमको प्रभाव नपरेको स्थानीयको गुनासो छ ।

विरामीले सावधानी नअपनाउँदा र सामूहिक रुपमा घुलमिल गर्दा परिवारका सदस्य र अन्यमा रोग सर्ने जोखिम बढ्ने गरेको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/०७८ मा १७६, २०७८/०७९ मा २६१, २०७९/०८० मा २४६, २०८०/०८१ मा २६३ र २०८१/०८२ मा २७१ जना क्षयरोगका बिरामी फेला परेका थिए ।

चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्म मात्रै १४३ जना बिरामी पहिचान भइसकेका छन् । सल्यानमा ६ वर्षको अवधिमा १ हजार ३६० जना क्षयरोगका विरामी पहिचान भएकामा हालसम्म ४६ जनाले ज्यान गुमाइसकेका छन् । क्षय संक्रमणका कारण मृत्यु भएका सबै ६० वर्ष माथिका हुन् । गत वर्षको तथ्यांक हेर्दा जिल्लाका १० स्थानीय तहमा सबैभन्दा बढी ५१ जना विरामी छत्रेश्वरी गाउँपालिकामा भेटिएका थिए । दोस्रोमा कपुरकोट गाउँपालिका र तेस्रोमा शारदा नगरपालिकामा थिए ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी तथा क्षयरोग फोकल पर्सन थलराज डिसीले जिल्लाका सबै पालिकामा विभिन्न कार्यक्रम संचालनसँगै खोजपड्ताल बढेपछि धमाधम नयाँ रोगी भेटिएको बताए । क्षयरोग लागेको एक व्यक्तिले १० जनासम्मलाई रोग सार्न सक्ने भएकाले पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको उनले बताए । उनका अनुसार क्षयरोग उपचार सेवा सल्यानमा प्रभावकारी देखिएको छ । गत वर्षमा उपचार सफलता दर ९४ प्रतिशत पुगेको थियो ।

जिल्ला अस्पतालदेखि अन्य स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको निगरानीमा औषधि सेवन गराउँदै आए पनि केहीले बीचमै छाड्ने गरेको उनले बताए । बीचमै औषधि छाडेका व्यक्तिले अन्य मानिससँग घुलमिल हुँदा जोखिम हुने उनले सुनाए ।

केही वर्षयता नेपाल सरकारसँग सहकार्य गरेर सल्यानमा क्षयरोग निवारणका लागि काम गर्दै आएको विराट नेपाल मेडिकल ट्रष्टका कार्यक्रम प्रमुख भरत चन्दले पर्याप्त बजेटको अभावमा सीमित स्थानमा मात्र काम गर्नुपर्ने बाध्यता रहेको बताए । समाजमा अपहेलित हुने डरले रोग लुकाउने र अन्तिम अवस्थामा मात्र अस्पताल जाने समस्याले गर्दा क्षयरोग नियन्त्रण कार्यत्रम प्रभावकारी नभएको जस्तो देखिएको उनले बताए ।

रोग लुकाएर बसेकाको खोजी गर्दै औषधि सेवन गराइँदै आएको उनले बताए । भारतलगायत देशका विभिन्न जिल्लामा लामो समय बसेर मजदुरी गरी घर फर्केकाहरुले लक्षण देखिए पनि तत्काल परीक्षण नगराउँदा केही समस्या देखिएको उनको भनाई छ ।

‘टिबी फ्री’ पालिका कार्यक्रम लागु भएको कपुरकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुवास हमालले रोगी पत्ता लगाउँदै उपचार गर्दै आए पनि लक्षण देखिएकाहरु सामूहिक रुपमा घुमफिर गर्दा रोग नियन्त्रणमा चुनौती थपिएको बताए । लक्षण देखिएकाहरु सामान्य अवस्थामा उपचारका लागि सम्बन्धित निकायमा नपुग्ने र अन्तिम अवस्थामा जाने गर्दा विरामी व्यक्तिले परिवारका सदस्य मात्र नभई अन्यलाई सार्ने समस्या बढी देखिएको उनले बताए । ‘नियमित औषधि सेवन गरे क्षयरोग पूर्ण रुपमा निको हुन्छ । तर केही विरामीले बेवास्ता गर्दै आएका छन् । उपचारमा बेवास्ता गर्नेले ज्यान गुमाइरहेका छन्,’ उनले भने । अहिलेसम्म सबैभन्दा बढी क्षयरोग संक्रमित भेटिएको छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगीले क्षयरोगको औषधि बीचैमा छाडेका गत वर्ष तीन र यो वर्ष एक जनाले ज्यान गुमाएको बताए ।

स्वास्थ्यकर्मीको निगरानीमा नियमित औषधि सेवन गरेका सबै जना निको भएको उनले बताए । ‘पालिकामा पर्याप्त बजेटको अझावमा सबै बस्तीमा गएर सचेतनामूलक कार्यक्रम र शिविर संचालन गर्न सकिएको छैन । बस्तीमा कार्यत्रम गर्न सके क्षयरोगबाट हुने मृत्यु शून्यमा झार्न सकिन्थ्यो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भोटेकोशी बाढीपछि शव व्यवस्थापनमा खटिएका प्रहरी, स्वास्थ्यकर्मी र स्वयंसेवकका लागि आवश्यक सुरक्षा तथा संक्रमण नियन्त्रण सामग्री उपलब्ध गराइएको छ । ‘प्रारम्भ नेपाल’ सामाजिक संस्थाले पीपीई, एयर फिल्टर मास्क, फिनेल र ब्लिचलगायतका सामग्री हस्तान्तरण गरेको हो । शव व्यवस्थापनमा आवश्यक स्वास्थ्य तथा सुरक्षासम्बन्धी सामग्रीको अभाव देखिएको जानकारी प्राप्त भएपछि यस्ता सामग्र उपलब्ध गराइएको प्रारम्भ नेपालकी अध्यक्ष ...
। नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएका चिकित्सकले पनि अस्थायी दर्ता लिएर बाढीपीडितको उपचारमा संलग्न हुन पाउने भएका छन ।नेपाल मेडिकल काउन्सिलले सोमबार एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । प्राकृतिक विपद्‍मा परेका घाइतेको उपचार गर्न चाहने स्वदेशी तथा विदेशी चिकित्सक, स्वास्थ्य स्वयंसेवी तथा संघसंस्थाले काउन्सिलबाट अस्थायी दर्ता लिन सक्ने काउन्सिलले जनाएको छ । ‘नेपाल मेडिकल ...
। विपद्‌ प्रभावित विभिन्न जिल्लाबाट पोस्टमार्टमका लागि पोखरा ल्याइएका शवहरू लामो समयसम्म पहिचान हुन नसक्दा व्यवस्थापनमा चुनौती थपिएको छ । शवहरू कुहिएर महामारी फैलन सक्ने जोखिम बढेपछि कास्की प्रशासनले पहिचान हुन नसकेका शवहरूको सुरक्षित व्यवस्थापन सुरु गरेका छन् । कास्कीका प्रहरी प्रमुख, एसपी नवीन कार्कीका अनुसार पोखरामा कुल १०२ वटा शव ल्याइएको थियो। तीमध्ये पूर्वी नवलपरासीका ४०, ...
: त्रिशूली नदीमा फेला परेका तथा हालसम्म पहिचान हुन नसकेका शवका आंशिक अंग धादिङको गजुरी गाउँपालिका-५ स्थित गलौंदी हाइटको ठूलो सामुदायिक वन क्षेत्रमा व्यवस्थापन गरिएको छ। भोटेकोशी बाढीका कारण ज्यान गुमाएका व्यक्तिका शव तथा मानव अंगमध्ये पहिचान हुन नसकेका आंशिक अंगलाई भविष्यमा समेत आवश्यक परे पहिचान गर्न सकिने गरी व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय ...
: रसुवा बाढीमा परी नवलपरासीको नारायणी नदी (गण्डक क्षेत्र)मा फेला परेका शवको व्यवस्थापन गर्न थालिएको छ। सोमबार दिउँसोसम्म ४५ वटा शवको व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मदन थापाले जानकारी दिए। शव व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्वास्थ्यकर्मीहरु खटिएका छन्। गण्डक क्षेत्रमा फेला परेका शवहरु राख्ने ठाउँ अभाव भएपछि पृथ्वीचन्द्र ...