: गृहमन्त्री सुधन गुरुङले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन हुने बताएका छन्। उनले प्रधानमन्त्रीको निर्देशनबमोजिम आयोगको प्रतिवेदन कार्यान्वयन हुने बताए।
'प्रधानमन्त्रीज्युको निर्देशन बमोजिम प्रतिवेदन कार्यान्वयन हुन्छ। त्यसमा कसैलाई छुट छैन। कसैलाई छुट हुनु पनि हुँदैन। प्रतिवेदनका आधारमा अगाडि बढ्नुपर्ने हुन्छ,' उनले भने।
त्यस्तै उनले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिए। शुक्रबार पदबहाली गरेपछि मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा मन्त्री गुरुङले सेवा प्रवाहलाई सहज बनाउँदै भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिए।
भ्रष्टाचार गरेको पुष्टि भए कसैलाई नछाड्ने उनको भनाइ छ। उनले आगामी पाँच वर्ष देशको पक्षमा गम्भीर भएर काम गर्ने भन्दै यसमा सबैको सहयोग आवश्यक रहने बताए। उनले आफू जनतालाई परिणाम दिनेगरी काम गर्न मन्त्रालयको नेतृत्वमा आएको भन्दै एकद्वार प्रणालीबाट शीघ्र सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन निर्देशन दिए।
आफू बोलेरभन्दा पनि कामबाट नतिजा देखाउने उनको भनाइ छ। मन्त्री गुरुङले सरकारका निर्णय कार्यान्वयन गर्दिनँ भन्ने छुट कसैलाई नभएको समेत बताए। अहिलेको परिवर्तन जेनजी युवाको बलिदानमा सम्भव भएको उल्लेख गर्दै उनले युवाहरूको मागलाई वर्तमान सरकारले सम्बोधन गर्ने धारणा राखे।