मुख्य समाचार
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित झुप्राखोला खुला रुपमा दोहन
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित झुप्राखोला खुला रुपमा दोहन

: सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित झुप्राखोला खुला रुपमा दोहन गरिएको छ । वर्षौंदेखि भइरहेको गिट्टी–बालुवाको अव्यवस्थित उत्खननले अहिले गम्भीर संकट निम्त्याएको छ । सरकारी मापदण्डलाई खुलम खुल्ला उल्लंघन गर्दै १० देखि १५ मिटरसम्म गहिराइमा गिट्टी–बालुवा उत्खनन् गरिएको तथ्य सार्वजनिक भएपछि निर्माणाधीन पक्की मोटरेबल पुल नै जोखिममा परेको छ ।


गत फागुन ३० गते अन्नपूर्ण पोष्ट दैनिकमा खोलामै डोजर चलाएर अवैध दोहन शीर्षकमा समचार प्रकाशित भएपछि जिल्ला समन्वय समितिले तीन पटकसम्म अनुगमन गरेको छ । उक्त समचारकै कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले पनि अनुसन्धान थालेको जनाएको छ । जिल्ला समन्वय समिति, सडक डिभिजन कार्यालय, खानी तथा भूगर्भ विभाग र गृह मन्त्रालयसम्मको ध्यानाकर्षण भइसकेको यो विषयमा नगरपालिका, प्रहरी र प्रशासनको लापरबाहीले मापदण्ड विपरितको खोला दोहन रोकिएको भने छैन् ।


वीरेन्द्रनगर नगरपालिकाले एआई गरेर ३७ लाखको ठेक्का खोल्यो । आहन निर्माण सेवाले ९९ लाखमा उक्त गिट्टी–बालुवा ठेक्का पायो । उक्त ठेक्का सम्झौतामा खोलामा गिट्टी–बालुवा ७५ सेन्टिमिटरसम्म उत्खनन् गर्ने उल्लेख छ । तर खोलामा १० देखि १५ मिटरसम्म गहिराईमा गएर उत्खनन् भएको जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनार बताउँछन् ।



झुप्राखोलाको भाङ्गारीमा निर्माणाधीन पक्की पुल अव्यवस्थित गिट्टी–बालुवा उत्खनन्कै कारण जोखिममा छ । बर्षेनी हुने यस्तो उत्खनन्ले २०८१ साल चैत ३० गते नदीजन्य तथा खनिजजन्य पदार्थ अनुगमन समितिले भाङ्गारीको पक्की पुलको सुरक्षामा चेकड्याम निर्माण गर्ने निर्णय भयो । तर उक्त निर्णय अहिले पनि कार्यन्वयन भएको छैन् ।

यही चैत ८ गते जिल्ला समन्वय समितिले प्रत्यक्ष अनुगमन गरी उक्त पुल भन्दा माथिको भागमा नदीजन्य पदार्थ उत्खनन् रोक्न नगरपालिकालाई निर्देशन समेत दियो । तर नगरपालिकाले उक्त बिषयलाई गम्भीरता देखाएन् । यस्तै जिल्ला समन्वय समितिले नगरपालिकाबाट नदीजन्य पदार्थ संकलनका लागि ठेक्का भएको स्थलमा बिक्री मूल्य वा शुल्क असुल गर्नुपर्ने सूचीसहितको सूचना पार्टी राखेर उत्खनन् क्षेत्र सीमाङ्कन राख्नु पर्नेमा नराखिएको र मापदण्ड अनुरुप उत्खनन् नभएको भन्दै मापदण्डको पालना गराउन पनि निर्देशन दिएको छ ।

जिल्ला समन्वय स्रोतले भन्यो, ‘सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगधिश्वर उपाध्याय र जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीलाई अनुगमनमा जाँउ भन्दा समय नभएको भन्दै आलटाल गरे । उनीहरु आफूहरु नगएर सामान्य प्रतिनिधि पठाउने गरेका छन् । झुप्रा खोलामा भएको मापदण्ड विपरीत उत्खनन्मा प्रहरी र प्रशासनको पनि मिलोमतो भएको आशंका छ ।

nullजिल्ला समन्वय समिति सुर्खेतको प्राविधिक प्रतिवेदनमा झुप्राखोलामा नदीजन्य पदार्थ अत्यधिक उत्खननका कारण खोलाको सतह तल झर्दै गएको र पुलको फाउन्डेशनमा समस्या देखिएको उल्लेख छ । यसले पुलको आधार कमजोर बनाएको छ र यथास्थिति कायम रहेमा पुल भत्किने जोखिम उच्च रहेको जिल्ला समन्वय समिति प्रमुख सुनारले बताए ।

करोडौं रुपैयाँको लगानीमा निर्माण भइरहेको यस्तो संरचना निर्माणाधीन अवस्थामै जोखिममा पर्नु गम्भीर राज्यको गम्भीर लाप्रबाही हो । जिल्ला समन्वय समिति सुर्खेतले गरेको अनुगमनमा झुप्राखोलामा पुल नजिकै करिब ५०० मिटरको दूरीभित्रै ठूला मेशिन प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन भइरहेको भेटिएको थियो । यसले मापदण्डको उल्लंघन मात्र होइन, संरचना र वातावरण दुबैमा प्रत्यक्ष खतरा सिर्जना गरेको छ ।

सरकारले नदीजन्य पदार्थ उत्खनन्का लागि स्पष्ट मापदण्ड तोकेको छ । जसअनुसार अधिकतम ७५ सेन्टिमिटरसम्म मात्र खन्न पाइन्छ । तर झुप्राखोलामा भने १० देखि १५ मिटरसम्म गहिराइमा उत्खनन् गरिएको पाइएको छ । यसबाट खोलाको सतह तल झर्दा जलप्रवाहको सन्तुलन बिग्रन्छ । बहाव तीव्र बन्छ र बाढी तथा कटानको जोखिम पनि बढाएकोे छ ।

स्थानीय बासिन्दाहरूका अनुसार झुप्राखोलाको स्वरूप पछिल्ला वर्षहरूमा निकै परिवर्तन भएको छ । स्थानीय सुशीला बादीले भनिन्, ‘पहिले खोलाको बहाव सन्तुलित थियो, अहिले वर्षेनी दिशा फेरिन्छ । जसबा कारण झप्राको बादी समुदायको बस्ती नै विपद्को जोखिममा परेको छ । यो अवस्था जारी रहे भविष्यमा ठूलो क्षति हुन सक्छ ।’

अनुगमनपछि जिल्ला समन्वय समितिले पुल संरक्षणका लागि तत्काल कदम चाल्न निर्देशन दिएको छ । समितिले पुल वरिपरि उत्खनन पूर्ण रूपमा रोक्न, पुलभन्दा माथि र तल दुवै क्षेत्रमा खन्न प्रतिबन्ध लगाउन र संरचना जोगाउन ‘चेक ड्याम’ निर्माण गर्न नगरपालिकालाई निर्देशन दिएको छ । तर स्थानीयका अनुसार यी निर्णयहरू पालना नगरी कागजमै सीमित भएका छन् । झुप्राखोलाको उत्खनन् व्यवस्थापन गर्ने जिम्मेवारी वीरेन्द्रनगर नगरपालिकामा रहे पनि अनुगमनका क्रममा गम्भीर कमजोरीहरू देखिएका छन् । स्थानीय बासिन्दाहरूले नगरपालिकामाथि ठेक्का दिने तर अनुगमन नगर्ने आरोप लगाएका छन् ।


झुप्राखोलामा गिट्टी–बालुवा मापदण्ड उल्लंघन हुँदा पनि प्रहरी प्रशासनको भूमिकामाथि प्रश्न उठेको छ । स्थानीयहरूले पटक–पटक गुनासो गर्दा पनि प्रभावकारी कारबाही नभएको बताउँछन् । प्रहरी प्रशासनको निष्क्रियताले अवैध गतिविधिलाई मौन समर्थन दिएको जस्तो देखिएको स्थानीयहरूको आरोप छ ।

स्थानीय दिपेश बादीले भने, ‘झुप्रामा नदीजन्य पदार्थको अव्यवस्थित उत्खनन्ले दीर्घकालीन रूपमा वातावरणीय सन्तुलनमा गम्भीर असर गरिरहेको छ । हामीले पटक–पटक गुनासो गर्दा पनि कसैले सुनिदिँदैन् । खोलामा मेशिनको अत्यधिक प्रयोगले हामी खोलामा वालुवा चालेर पेट पाल्नेहरुको पनि आहारा खोसिएको छ । हाम्रो रोजगारी पनि खोसियो । गिट्टी–बालुवा मापदण्डअनुसार मात्र उत्खनन् गर्न कडाइ गर्नु, नियमित अनुगमन गर्नु र उल्लंघन गर्नेहरूलाई कडा कारबाही गर्न हाम्रो माग छ ।

यता वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटाले झुप्राखोलामा गिट्टी–बालुवा मापदण्डअनुसार मात्र उत्खनन निर्माण व्यवसायीलाई पत्र लेख्ने बताए । उनले भने, ‘हामीले ठेक्का नलगाउँदा पनि प्रश्न उठ्छ । ठेक्का लगाउँदा पनि बिभिन्न बिवादहरु आउने गरेका छन् । निर्माण व्यवसायीलाई नियमअनुसार काम गर्न निर्देशन दिइएको छ । त्यसो भए नभएको एकिन गरेर मापदण्ड उलंघन भएको पाइए कानुनी कारबाही गछौँ । हामीलाई जिल्ला समन्वय समितिबाट पनि यस बिषयमा पत्र प्राप्त भएको छ । त्यसको कार्यान्वय तत्काल गछौँ ।’

यता उक्त गिट्टी–बालुवा ठेक्का आहन निर्माण सेवाका प्रोप्राइटर हरिबहादुर थापाले नगरपालिकाले एआई गरेर ठेक्का लगाएको ठाउँबाटै मापदण्ड अनुसार नै गिट्टी–बालुवा उत्खनन् गरिएको दाबी गरे । उनले भने, ‘हामीलाई झुप्राको बस्तीले पनि अवरोध गरिरहेको छ । अन्य निकायहरुबाट पनि पटक–पटक अनुगमन भएको छ । राज्यलाई कर तिरेर व्यवसाय गर्न पनि निकै सास्ती खेपिरहेका छौ्रँ । हामी मापदण्ड अनुसार नै उत्खनन् गरेका छौँ। मापदण्ड मिचेर खोला दोहन गरेको आरोप सत्य होइन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पर्यटन विभागले यस बर्षको वसन्त सिजनमा हुने हिमाल आरोहणको अनुमति दिन थालेको छ । विभागले विभिन्न हिमालमा हुने आरोहणका लागि ‘पर्मिट’ अनुमति दिन थालेको हो । विभागको अभिलेख अनुसार बुधबारसम्म १० समूहका ८२ जनाले पर्मिट लिइसकेका छन् । १ मार्चदेखि बुधबारसम्म सो संख्यामा अनुमति जारी भएको हो। यस अवधिमा सबैभन्दा धेरै अन्नपूर्ण प्रथम आरोहण ...
पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टीले आकस्मिकरुपमा बैठक बोलाएको छ । आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने तयारी गरेको छ । यसैसन्दर्भमा एमाले सचिव महेश बस्नेतसँग गरिएको संक्षिप्त कुराकानी : पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि अब एमालेले के गर्छ ? अब हामी सचिवालय बैठक बस्दै छौँ। हामी सदन, सडक र कानुनी लडाइँ-यी ...
। एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा संघीय राजधानी काठमाडौंमा प्रदर्शन सुरू गरेको छ । ललितपुरको च्यासलस्थित सचिवालय बैठक जारी रहेका बेला एमालेका कार्यकर्ताहरू काठमाडौंको चावहित क्षेत्रमा एमाले कार्यकर्ताहरू सडक प्रदर्शन गरिरहेका छन् । उनीहरूले सरकारविरूद्ध चर्को नाराबाजी गरिरहेका छन् । सरकारले शनिबार बिहानमात्रै अध्यक्ष ओलीलाई पक्राउ गरेको थियो । पक्राउ लगत्तै एमाले नेताहरूले अब सडक ...
: सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले सिफारिस गरेको विषयहरू कार्यान्वयन गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिए। आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन ...
। अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । बिपी राजमार्गमा काम गर्ने एक मजदुरको मृत्यु भएको रोशी गाउँपालिकाको उपाध्यक्ष ज्वाला वाइवाले जानकारी दिए । उनका अनुसार बिपी राजमार्गमा काम गर्ने रोशी-७ निवासी कुन्साङ तामाङको‌ रोशी खोलाले बगाएर मृत्यु भएको हो । वर्षाका कारण बिपी राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध भएको छ । ...