— भदौ २३ र २४ का घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदनमाथि एमालेका महासचिव शंकर पोखरेलले असन्तुष्टि जनाएका छन् । उनले कार्की आयोगको प्रतिवेदन निष्पक्ष नभएको बताएका छन् ।
महासचिव पोखरेलले कार्की आयोगको प्रतिवेदन सार्वजनिक भएपछि त्यो निष्पक्ष छैन भन्ने यसअघिको धारणालाई पुष्टी गरेको बताएका हुन् । 'कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको छ । कार्की आयोग र आम निर्वाचन २०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानुनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट छ । सोही अनुसारको निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको छ,' पोखरेलले भनेका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत पोखरेलले कार्की आयोगको प्रतिवेदनबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले थप भनेका छन्, 'निर्वाचन र आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर छ । अल्गोरिदमको प्रयोगबाट लोकपृयतावाद, अराजकतावाद र अवसरवादको मिश्रणबाट नयाँ शक्तिको उदय भएको छ । अबको बाटो सजिलो नहुन सक्छ- राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने देखिन्छ ।'
आगामी सरकारको नेतृत्वलाई काम गर्ने अवसर दिनुपर्ने पनि पोखरेलले भनेका छन् । 'यस्तो अवस्थामा, 'नयाँ शक्ति' र 'नेतृत्व'लाई उनीहरूको दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु र जनतालाई प्रत्यक्ष अनुभवमार्फत मूल्याङ्कन गर्न दिनु नै सम्भवतः विवेकपूर्ण कदम हुन सक्छ,' पोखरेलले भनेका छन, 'सत्य कुरा के हो भने- लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद आजका चुनौतीहरूको समाधानको बाटो होइन र विचारधारात्मक राजनीतिको दिर्घकालीन विकल्प पनि होइन ।'