: विराटनगरमा दाम्पत्य सम्बन्धभित्रको अविश्वास र विवादले जघन्य पारिवारिक अपराध निम्त्याएको छ । एकआपसको अविश्वासकै कारण श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
विराटनगर महानगरपालिका–१५ हर्ताली हाटका ३५ वर्षीय रोशन साहले आफ्नै श्रीमती ३२ वर्षीया कोमलकुमारी साहको हत्या गरी योजनाबद्ध रूपमा शव लुकाएको घटनाले अहिले चर्चा र आक्रोश जन्माएको छ । मोरङ प्रहरीले बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको विवरण अनुसार रोशनले चैत ५ गते राति साडी र गलबन्दीले घाँटी कसेर घरभित्रै श्रीमतीको हत्या गरेका थिए । त्यसपछि अपराध लुकाउन उनले सुनियोजित तरिकाले शव व्यवस्थापनको योजना बनाएको खुलेको छ ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेका अनुसार हत्यापछि उनले हात–खुट्टा बाँधेर शवलाई तन्नाले बेरेका थिए। त्यसलाई दाजु दीपेन्द्र साहको प्रदेश १–०२–००३ ह ५७०७ नम्बरको सीटी सफारीमा राखेर घरदेखि पूर्वतर्फ करिब ४ किलोमिटर टाढा विराटनगर–१७ स्थित छाला फ्याक्ट्री नजिक रहेको कल्भर्टमुनि फालिदिएका थिए ।
nullसीटी सफारी रोशनका दाजु दीपेन्द्रको नाममा दर्ता छ । शव व्यवस्थापनका क्रममा दीपेन्द्र स्वयंले सफारी चलाएको र रोशन पनि सँगै गएको खुलेको छ । घटनास्थलको छनोट समेत योजनाबद्ध रहेको प्रहरीले जनाएको छ । छाला फ्याक्ट्री आसपासको क्षेत्र सधैं दुर्गन्धित हुने भएकाले शव सड्दा आउने गन्धलाई लुकाउन तथा दुर्गन्ध फैलिएको कसैलाई पनि थाहा नहोस् भन्नलाई त्यही स्थान रोजिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
डीएसपी लामिछानेका अनुसार हत्यामा प्रत्यक्ष संलग्नता रोशनमै सीमित देखिएको छ । तर, शव व्यवस्थापनमा सहयोग गरेको पाइएपछि घटनामा दाजु दीपेन्द्रको भूमिका पनि देखिएको उनले बताए । यस विषयमा प्रहरीले गहिरो अनुसन्धान गरिरहेको छ । ‘हत्या रोशनले गरेका हुन् भन्ने स्पष्ट देखिन्छ । तर, शव व्यवस्थापनमा दाजुको सहयोग लिएको पाइएको छ । दीपेन्द्रको संलग्नताको स्तरका बारेमा अनुसन्धान जारी छ,’ उनले भने ।
घटनाको खुलासा भने चार दिनपछि मात्रै भएको थियो । कल्भर्टमुनि पानीभित्र तन्नाले बेरिएको अवस्थामा शव देखेपछि विराटनगर–१७ का वडाध्यक्ष समीर कमर मियाँले मंगलबार साँझ करिब ६ः५५ बजे प्रहरीलाई खबर गरेका थिए । त्यसपछि कोशी अस्पतालका फरेन्सिक चिकित्सकसहित डीएसपी लामिछाने र इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको संयुक्त टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको थियो ।
शव अत्यधिक सडेको र दुर्गन्धित अवस्थामा फेला परेकाले सुरुमा पहिचान गर्न कठिन भएको प्रहरीले जनाएको छ । त्यसपछि हराइरहेका व्यक्तिहरूको विवरणसँग मिलान गर्दै अनुसन्धान अघि बढाउँदा मृतक कोमलकुमारी साह रहेको पुष्टि भएको हो । उनले लगाएको चुरा, औंठी र हरियो साडीका आधारमा माइती पक्षले शवको सनाखत गरिदिएका हुन् ।
प्रहरीका अनुसार कोमलकुमारी चैत ६ गतेदेखि सम्पर्कविहीन थिइन् । रोशनले नै चैत ८ गते इलाका प्रहरी कार्यालय रानीमा श्रीमती हराएको भन्दै हुलियासहितको निवेदन दिएका थिए । तर, उक्त निवेदन नै हत्यापछि घटना लुकाउने रणनीतिक कदम भएको अनुसन्धानबाट खुल्न आएको छ । ‘घटना धेरै हिसाबले रहस्यमय थियो । हामीले विभिन्न कोणबाट हेरिरहेका थियौं । हत्यामा संलग्नले नै आफूलाई निर्दोष देखाउन सक्रिय प्रयास गरेका थिए,’ डीएसपी लामिछाने भन्छन् ।
nullउनका अनुसार पत्नीको हत्या गरेर शव फालेपछि पनि रोशनले ससुराली पक्षसँग सम्पर्क कायम राखेका थिए । ‘उनी बारम्बार ससुरालीमा जाने, रात बस्ने समेत गरेका रहेछन् । ताकी कसैले आफूलाई शंका नगरोस्,’ लामिछाने भन्छन् । उनका अनुसार प्रहरी समयमै सक्रिय नभएको भए रोशन भारततर्फ फरार हुन सक्ने अवस्था थियो । उनलाई पक्राउ गर्न प्रहरीको अर्को टोली तत्काल परिचालन गरिएको थियो। हत्या गरेर आफूले फालेको श्रीमतीको शव फेला परेको जानकारी पाउन साथ उनी भाग्ने तयारीमा रहेको प्रहरीको भनाइ छ ।
घटनापछि प्रहरीले रोशन र उनका दाजु दीपेन्द्र दुवैलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ । दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट बुधबार म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।
प्रहरीको प्रारम्भिक निष्कर्षअनुसार घटनाको मुख्य कारण दाम्पत्य सम्बन्धमा देखिएको अविश्वास रहेको छ । ‘रोशनले पत्नीको परपुरुषसँग सम्बन्ध रहेको आशंकामा पटक–पटक विवाद गर्दै आएका थिए । त्यही आशंका र मानसिक तनावले अन्ततः हिंसात्मक रूप लिँदै ज्यानै लिने निर्णयसम्म पुर्याएको देखिन्छ । व्यक्तिगत शंका र अविश्वासले यति ठूलो अपराध भएको छ,’ प्रहरी स्रोतले भन्यो ।
पारिवारिक सम्बन्धभित्रको तनाव र हिंसात्मक प्रवृत्तिको समयमै पहिचान र समाधान नभए त्यसले भयावह रूप लिने कुरा यही घटनाबाट स्पष्ट हुने प्रहरी अधिकारी बताउँछन् । १२ वर्षका छोरा र १० वर्षकी छोरीका अभिभावक रहेका रोशन र कोमलकुमारीको परिवार अहिले विखण्डित भएको छ । प्रहरीका अनुसार छोराछोरी निदाइसकेपछि रातको समयमा हत्या गरिएको थियो ।
विराटनगरस्थित कोशी अस्पतालमा पोस्टमार्टम गरेर बुधबार शव आफन्तले जिम्मा लिएका छन् । पोस्टमार्टम रिपोर्ट आएर अनुसन्धान सकिएपछि घटनाको थप विवरण पत्ता लाग्ने डीएसपी लामिछानेको भनाइ छ । उनका अनुसार सबै कोणबाट अनुसन्धान तीव्र बनाइएको छ । ‘यो घटनाले घरेलु हिंसा, अविश्वास र अपराधबीचको सम्बन्धलाई गम्भीर रूपमा उजागर गरेको छ । सचेत बन्नु पर्ने सन्देश समाजलाई दिएको छ,’ लामिछाने भन्छन् ।