: मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कार्यालय हेटौंडामा कार्यरत अधिकृत छैटौं अमृत भेटुवाल र लेखापढी व्यवसायी खगेन्द्र पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
आयोगले उनीहरूविरुद्ध बिहीबार विशेष अदालतमा आरोप- पत्र दायर भएको हो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसार सवारी सरूवा सहमति गराइदिने बहानामा सेवाग्राहीसँग घुस माग गरिएको भन्ने उजुरीका आधारमा हेटौंडाबाट खटिएको टोलीले दुवैजनालाई सेवाग्राहीबाट ११ हजार ५०० रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा अधिकृत भेटुवाल र पौडेलबीच आपसी मिलेमतोमा सेवाग्राहीसँग घुस माग्दै बार्गेनिङ गरी रकम लिन सहमति भएको खुलेको आयोगले जनाएको छ। सोही योजनाअनुसार घुस लिइएको पुष्टि भएपछि दुवैजनाविरुद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
आयोगले अधिकृत भेटुवाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) अनुसार ११ हजार ५०० रुपैयाँ बिगो कायम गरी सोही अनुसार कैद तथा जरिवाना सजाय मागदाबी गरेको छ।
त्यस्तै,बिचौलिया पौडेललाई सोही ऐनको दफा ३ (२) अनुसार समान बिगो कायम गरी कैद र जरिवानाको माग गरिएको आरोप -पत्रमा उल्लेख छ।