: नवलपुरको मध्यविन्दु नगरपालिकामा अटोको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । बुधबार बिहान मध्यविन्दु–६ टाँडीस्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा स्थानीय ७५ वर्षीय दुर्गाप्रसाद पाठकको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बुधबार बिहान चोरमाराबाट हर्दियातर्फ जाँदै गरेको ग.प्र.०४–००१ ह ०५२६ नम्बरको अटोले बाटो काट्दै गरेका पाठकलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका पाठकलाई तत्काल उपचारका लागि डण्डास्थित मध्यबिन्दु प्रादेशिक अस्पताल पुर्याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो । प्रहरीले अटो र चालक मध्यविन्दु–५ निवासी ५७ वर्षीय जुद्धबहादुर गुरुङलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।