: नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशन आगामी असोजमा गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५औं महाधिवेशन आगामी असोज १६, १७ र १८ गते काठमाडौंमा गर्ने गरी मिति संशोधनसहित पारित गरेको हो।
महाधिवेशनअन्तर्गत भौ ३ गतेबाट वडा अधिवेशन सुरु हुने कांग्रेसले जनाएको छ। यसअघि मंगलबारको बैठकमा सभापति गगनकुमार थापाले भदौमा महाधिवेशन गर्ने प्रस्ताव गरेको थियो। बैठकले महाधिवेशनको प्रक्रिया आरम्भ गर्दै यसका लागि वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा निर्वाचन समिति बनाइएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
त्यस्तै बैठकले संविधान संशोधनका लागि पार्टीको नेतृत्वमा सर्वपक्षीय छलफल अघि बढाउने निर्णयसमेत गरेको प्रवक्ता चालिसेले जानकारी दिए। त्यस्तै नयाँ बन्ने सरकारलाई सकारात्मक सहयोग गर्ने भन्दै प्रवक्ता चालिसेले सुशासन र प्रगतिको तर्फमा सरकारको सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरिएको बताए।
बैठकले पार्टीका भातृ तथा शुभेच्छुक संस्थालाई क्रियाशील बनाउन महामन्त्रीद्वयको संयोजकत्वमा अध्ययन समिति बनाइएको उनले जानकारी दिए।