: इच्छाकामना गाउँपालिका-३ चुम्लिङटारमा गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। दुर्घटनापछि क्षेत्र केही समय तनावग्रस्त बनेको थियो।
प्रहरीका अनुसार मृतक बेनिघाट रोराङ गाउँपालिका-१० की अम्ब कुमारी श्रेष्ठ हुन्। गम्भीर घाइते भएकी उनलाई उपचारका लागि लैजाँदै गर्दा ज्यान गएको हो।
घटनापछि आक्रोशित स्थानीय बासिन्दा र मृतकका आफन्तले घाइतेको उपचारको सुनिश्चितता तथा मृतकका लागि क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेका थिए। सो क्रममा करिब दुई घण्टासम्म मुग्लिङ-मलेखु सडक अवरुद्ध भएको थियो।
स्थानीयले गाडी हेल्परले चलाएको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
प्रहरीका अनुसार अहिले सुरक्षाकर्मी परिचालन गरी अवस्था नियन्त्रणमा लिइँदै छ भने अवरुद्ध सडक खुलाउने प्रयास जारी छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।