: अवैध रूपमा भन्सार छलि लुकाएर राखेको अवस्थामा नवलपरासी प्रहरीले झन्डै १६ लाख बढीको मोबाइलमा प्रयोग हुने सामान बरामद गरेको छ।
सोमबार दिउँसो इलाका प्रहरी कार्यालय सुनवलका निरीक्षक(इन्स्पेक्टर)लक्ष्मण देवकोटाको कमाण्डमा खटिएको टोलीले सुनवल नगरपालिका–११ भडेरीस्थित एक घरमा भाडामा लिइएको सटर कोठाबाट उक्त सामान बरामद गरेको हो।
बरामद सामानको बजार मूल्य १६ लाख बढीको रहेको छ। यद्यपि प्रहरीले भन्सार मूल्यअनुसार ८ लाख ४६ हजार कायम गरेर आवश्यक प्रक्रियाका लागि महेशपुर भन्सार कार्यालय पठाएको जनाएको छ।
बरामद भएका सामानमा मोबाइलमा प्रयोग हुने ५ लाख ६१ हजार बराबरको २२ हजार ५ सय पिस मोबाइल ग्लास र २ लाख ८५ हजार बराबरको १ सय ९० पिस एयरफोन रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी बीरदत्त पन्तले जानकारी दिए।
उक्त सामान लुकाइएको सटर कोठा परासीका एक व्यक्तिले भाडामा लिएर राखेको बताइएको छ। त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।