। बागलुङमा आर्थिक गणनाका लागि ३६ जना कर्मचारी परिचालन गरिने भएको छ । २ वैशाखदेखि ७ असारसम्म सञ्चालन हुने आर्थिक गणनाका लागि तयारी थलिएको छ । बागलुङमा आर्थिक गणना कार्यालय स्थापना गरेर तयारी थालिएको छ ।
बागलुङ नगरपालिका–२ स्थित तथ्याङ्क समन्वय कार्यालयको भवनमा कार्यालय राखिएको हो । आर्थिक गणनाका लागि बागलुङ जिल्लामा ३१ गणक र ५ सुपरिवेक्षक खटाइएको छ ।
उनीहरूलाई एक हप्ते तालिमपछि गणनाका लागि खटाइने भएको कार्यालय प्रमुख चन्द्रकान्त सुवेदीले जानकारी दिए । चैत मसान्तसम्म गणक नियुक्ति, तालिम र स्थानीय तहसँग समन्वय गरेर गणनाका लागि वडा वडामा पठाइने सुवेदीले जानकारी दिए ।
‘समग्र अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ नारासहित देशभर दोस्रो पटक हुन लागेको गणनामा बागलुङका कृषि सहित १८ वटा उद्योग तथा प्रतिष्ठानको विवरण संकलन गरिनेछ । व्यावसायिक कृषि, व्यापार, सेवा, उद्योग, होटल तथा स्वरोजगारसम्बन्धी प्रतिष्ठानको दर्ता, नविकरण, कारोवार सहित अन्य विवरण संकलन गरिने जनाइएको छ ।
गणनाका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला समन्वय समिति समेत गठन गरिएको छ भने पालिका र वडास्तरमा पनि छुट्टै अनुगमन समिति बनाइनेछ । यस अघिको आर्थिक गणना २०७५ सालमा भएको थियो । कोरोना महामारीका कारण दुई वर्ष ढिला गरी गणना गर्न थालिएको हो ।
आर्थिक गणनाले मुलुकलाई आर्थिक विकासका सूचकको मापन गर्न र नीति बनाउन सहयोग पुग्नेगरी हरेक पाँच पाँच वर्षमा आर्थिक गणना गरिँदै आइएको छ ।