मुख्य समाचार
विशेष ‘चेकिङ’ अभियानअन्तर्गत ‘राइड सेयरिङ’ सेवामा संलग्न १७५ जना चालक कारबाहीमा
विशेष ‘चेकिङ’ अभियानअन्तर्गत ‘राइड सेयरिङ’ सेवामा संलग्न १७५ जना चालक कारबाहीमा

। काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन तथा नियम उल्लङ्घनलाई नियन्त्रण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष ‘चेकिङ’ अभियानअन्तर्गत ‘राइड सेयरिङ’ सेवामा संलग्न १७५ जना चालक कारबाहीमा परेका छन् ।

उपत्यकाका विभिन्न व्यस्त क्षेत्रमा गरिएको अनुगमनका क्रममा ती चालकले प्रचलित कानुन विपरीत सवारी सञ्चालन गरेको पाइएपछि कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरीले कार्यालयले जनाएको छ ।

पछिल्लो समय उपत्यकामा राइड सेयरिङ सेवाको प्रयोग तीव्र रूपमा बढ्दै गएको र यससँगै अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने, मापदण्ड पूरा नगरी यात्रु ओसारपसार गर्ने तथा ट्राफिक नियमको बेवास्ता गर्ने प्रवृत्ति पनि बढेको देखिएकाले उक्त अवस्थालाई नियन्त्रण गर्न लक्षित गर्दै विशेष चेकिङ अभियान सञ्चालन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।

उनले भने, ‘हामीले उपत्यकाका विभिन्न स्थानमा विशेष चेकिङ अभियान सञ्चालन गरेका छौँ । उक्त अभियानमा राइड सेयरिङका १७५ जना चालक कारबाहीमा परेका हुन् ।’ उनका अनुसार कारबाहीमा परेका अधिकांश चालकले ‘अनलाइन प्लेटफर्म’को अनुमति बिना अफलाइन रूपमा सेवा सञ्चालन गरिरहेका थिए ।

यसैगरी, जथाभावी स्थानमा यात्रु चढाउने र झार्ने (पिक एन्ड ड्रप) कार्य, सवारीसाधनको प्राविधिक अवस्था कमजोर हुनु, आवश्यक कागजात नहुनु तथा ट्राफिक नियमको उल्लङ्घन गर्ने गतिविधि पनि भेटिएको प्रवक्ता सुवेदीले जानकारी दिए ।

ट्राफिक प्रहरीका अनुसार राइड सेयरिङ सेवा सञ्चालनका लागि सम्बन्धित निकायबाट अनुमति लिनु, सवारीसाधनको नियमित मर्मतसम्भार गर्नु, चालकले आवश्यक कागजात बोकेको हुनु तथा तोकिएका नियमको पालना गर्नु अनिवार्य हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने, ‘धेरै चालकहरूले यी आधारभूत मापदण्डको बेवास्ता गर्ने गरेको पाइएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो ।’

विशेषगरी व्यस्त चोक, अस्पताल क्षेत्र, विद्यालय आसपास तथा मुख्य सडकमा जथाभावी रोकिएर यात्रु ओसारपसार गर्दा यातायात अवरोध हुनाका साथै दुर्घटनाको जोखिम पनि बढ्ने भएकाले यसप्रति कडाइ गरिएको ट्राफिक प्रहरी प्रमुख अधिकारीको भनाइ छ ।

आगामी दिनमा पनि यस्ता अनुगमन अभियानलाई अझ प्रभावकारी बनाइने र नियम उल्लङ्घन गर्ने जो कोहीलाई पनि कारबाही गरिने प्रमुख अधिकारीले स्पष्ट पारे । उनले सर्वसाधारणलाई पनि सुरक्षित र कानुनी रूपमा सञ्चालन भएका सेवाहरू मात्र प्रयोग गर्न आग्रह गरेका छन् ।

ट्राफिक प्रहरीले यस अभियानलाई निरन्तरता दिँदै सवारी व्यवस्थापनलाई थप व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउने लक्ष्य लिएको जनाएको छ । साथै, राइड सेयरिङ कम्पनीलाई पनि आफ्ना चालकको अनुगमन कडाइ गर्न तथा नियम पालना सुनिश्चित गर्न आग्रह गरिएको छ । यस अभियानले उपत्यकाको ट्राफिक अनुशासन कायम गर्न र यात्रु सुरक्षालाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

वैदेशिक रोजगारीको बहानामा लाखौँ रूपैयाँ ठगी गर्ने पाँच जना पक्राउ

यसैबीच काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीको बहानामा लाखौँ रूपैयाँ ठगी गर्ने पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बर्दिया बाँसगढी नगरपालिका–८ का ३६ वर्षीय अर्जुनबहादुर पौडेल, सर्लाही बरहथवा नगरपालिका–२ का ४६ वर्षीय डिल्लीराम भुजेल, काठमाडौं महानगरपालिका–१६ की ४३ वर्षीया उमा गुरुङ, कास्की पोखरा महानगरपालिका–३३ का ३३ वर्षीय आशिष महत र रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ की ३५ वर्षीया सङ्गीता श्रेष्ठ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार पौडेलले क्रोएसिया पठाउने भन्दै रु तीन लाख ३० हजार, भुजेलले माल्दिभ्स पठाउने भन्दै रु दुई लाख ९९ हजार गुरुङ र महतले बेलायत पठाउने भन्दै जनही रु दुई लाख तथा श्रेष्ठले पोर्चुगल पठाउने भन्दै रु तीन लाख ६८ हजार ठगी गरेका थिए ।

उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धानका लागि आज वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरी उपरीक्षक भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतविरुद्ध जाहेरी दरखास्त दिने कृष्णप्रसाद जैसी नै अर्को सहकारी ठगी आरोपमा पक्राउ परेका छन् । सूर्यदर्शन सहकारीमा पीडितका संघर्ष समितिका तर्फबाट आन्दोलनदेखि अदालतसम्म बहस र आन्दोलन गरेका जैसी नै पोखराको धनुष बचत तथा ऋण सहकारी ठगी प्रकरणमा प्रमुख योजनाकारका रुपमा पक्राउ परेका ...
। सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । नाबालिकाको अन्तरंग तस्बिर तथा भिडियो टेलिग्राम एकाउन्टबाट प्रशारण गर्ने काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-८ का २२ वर्षका अशोक लामालाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आइतबार पक्राउ गरेको हो । साइबर ब्युरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार लामाविरुद्ध विद्युतीय कारोबार ऐन ०६३ अन्तर्गत जिल्ला अदालत काठमाडौंबाट ५ ...
। हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा लिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान (हलेसी)मा निर्माणाधीन आधारधूत अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनी नमूना/हिमालयन जेभी विराटनगरका ठेकेदार रमेश बस्नेतको बाग्मती प्रदेश १६ च ६८०२ नम्बरको गाडी नगरपालिकाले नियन्त्रणमा लिएको हो । आवश्यक निर्माण सामग्री तथा जनशक्तिको व्यवस्थापन गरेर ठेक्का बमोजिमको काम सुरु ...
। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न भूमिका निर्बाह गर्ने गृहमन्त्रालयका कर्मचारी र सुरक्षा निकायलाई सम्मान गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच मन्त्री अर्यालले कर्मचारी र सुरक्षा निकायलाई प्रसंशा–पत्रद्वारा सम्मान गरेका हुन् । मन्त्री अर्यालले गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, नेपाली सेनाका बलाध्यक्ष रथि प्रदिपजंग केसी, ...
। नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ । निगमले काठमाडौं–दुबई रुटमा २५ मार्चमा उडान राखेको छ । दुबई–काठमाडौं रुटको उडान २६ मार्चमा हुने भएको छ । यसैगरी काठमाडौं–दुबई अर्को उडान २७ मार्चमा राखिएको छ । सो जहाजले दुबई–काठमाडौं उडान २८ मार्चमा गर्नेछ । निगमका अनुसार यी उडान काठमाडौंबाट स्थानीय समय अनुसार ...