। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको नतिजाबारे दिएको पछिल्लो अभिव्यक्तिलाई पार्टीपंक्ति र राष्ट्रिय राजनीतिमा चासोका साथ हेरिएको छ ।
गत शुक्रबार केन्द्रीय मुख्यालय पेरिसडाडाँमा आयोजित एक कार्यक्रममा प्रचण्डले घण्टीमा भोट हाल्ने केन्द्रीय सदस्यहरुलाई आँखा चिम्लिएर कारबाही गर्ने चेतावनी दिएका थिए ।
जनसंगठनका नेताहरू सहभागी उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले पार्टीका भावी रोडम्याप पनि प्रस्तुत गरेका थिए । तर, मुख्य चासो भने रास्वपालाई भोट हाल्नेमाथि कारबाहीको चेतावनीतर्फ गएको देखिन्छ ।
‘अब कारबाही गरिन्छ र त्यसको शुरूवात केन्द्रीय सदस्यहरूबाटै हुन्छ । केन्द्रीय सदस्यहरू नै घण्टीतिर गए भन्ने जेनरल रिपोर्ट आएको छ,’ प्रचण्डले भनेका थिए, ‘ठोस् प्रमाण ल्याउनुस्, को–को आफ्नो क्षेत्रमा गएनन् ? को–को घण्टीतिर लागेको देखियो । तिनलाई हामी आँखा चिम्लिएर कारबाही गर्छौं ।’
२५ वटा पार्टी वा समूहबीच एकता गरेर निर्वाचनमा होमिएको नेकपाले जस्तो नतिजा पाएको छ, त्यसआधारमा हेर्दा प्रचण्डको चेतावनीतर्फ नेताहरूको ध्यान जानु स्वभाविक पनि लाग्छ । ‘जुन उद्देश्यले एकता अभियान चलाएका थियौं र जति संख्यामा नेताहरु गोलबन्द भएका छौं । नतिजा त्यस्तो आएन,’ एक शीर्ष नेता भन्छन्, ‘गम्भीर समीक्षा नगरी अगाडि बढ्न सक्ने स्थिति छैन । पार्टी संयोजकले दिएको सन्देशलाई त्यही रूपमा लिनुपर्छ ।’
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहित दुई दर्जन समूहबीच एकता हँुदा यो पार्टीमा शीर्ष नेताहरुको भीड नै तयार भएको छ । पूर्वप्रधानमन्त्री नै तीन जना (प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल) छन् । पूर्वउपप्रधानमन्त्रीहरू, पूर्वगृहमन्त्रीहरू र मन्त्रीहरू उत्तिकै ठूलो संख्यामा छन् ।
यिनै नेताहरूको एकताका आधारमा निर्वाचनपछि सरकारको नेतृत्व गर्ने अथवा सरकार बनाउन पहलकदमी लिने अभिव्यक्ति प्रचण्ड सहितका नेताहरूले दिएका थिए । तर रास्वपा एक्लैले दुई तिहाइ नजिकको बहुमत ल्यायो ।
समीक्षा बैठक बस्ने तयारी
यो निर्वाचनको नतिजाले २०६३ सालको अन्तरिम सरकारमा सहभागी भएयता सदावहार जस्तो सत्तामा रहँदै आएका प्रचण्डको खोजी केही वर्षलाई नहुने लगभग पक्का छ ।
फागुन २१ को निर्वाचनबाट प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ गरी जम्मा १७ सिटमा खुम्चिएको नेकपालाई सरकार निर्माणकै निम्ति खोज्नुपर्ने परिस्थिति रास्वपाभित्रै संकट आए मात्र हुनेछ ।
‘पार्टीको पक्षमा अपेक्षित नतिजा आएन । अब समीक्षा गरेर संगठन पुनर्गठनको कार्ययोजना सहित अगाडि बढ्छौं,’ नेता डा.बेदुराम भुसाल भन्छन्, ‘संभवत: चाँडै समीक्षा बैठक बस्छ ।’
तर कुन कमिटीको बैठक बस्छ भन्नेमा नेताहरू प्रष्ट छैनन् । ‘कार्य संयोजन समिति बस्न सक्छ अथवा सचिवालय बोलाउन सकिन्छ,’ भुसाल भन्छन् । तर यो दुवै कमिटीमा रहने नेताहरुको टुंगो लागेको छैन ।
नेकपामा पद टुंगो लागेको भनेको प्रचण्ड र माधव नेपालको मात्रै हो । प्रचण्ड संयोजक र माधव नेपाल सहसंयोजक भएरै नेकपाको निर्णयहरू हुँदै आएको छ । गत २१ फागुनको निर्वाचन प्रयोजनका निम्ति भने १३८ जना केन्द्रीय सदस्यहरूको नामावली निर्वाचन आयोगमा बुझाइएको थियो । तर यो प्राविधिक नामावली मात्रै रहेको नेताहरू बताउँछन् ।
छैन केन्द्रीय सदस्यहरूको पहिचान
नेकपा बन्दैगर्दा १२५ जनाको सचिवालय बनाउने प्रस्ताव पनि गरिएको थियो । फेरि शीर्ष नेताहरू रहनेगरी कार्य संयोजन समिति बनाउने निर्णय पनि भयो । तर नेताहरू को–को रहने भन्ने निर्णय हुन सकेको छैन ।
‘एकता अभियान लम्बिदै गयो । नेताहरु थपिदै जानुभयो । कुन नेताको हैसियत के हुने र कुन कमिटीमा बस्ने भन्ने नै भएन,’ एक पूर्वदाधिकारी भन्छन्, ‘२५ वटा समूहका नेताहरुलाई संयोजक र सहसंयोजकले नै राम्रोसँग चिन्ने अवस्था रहेन ।’
अर्थात पार्टी निर्णय लिने कार्यकारी संरचनामा राख्ने नेताहरू समेत टुंग्याउन नसकेका प्रचण्डले कारबाहीको चेतावनी दिएका छन् । र, उनको चेतावनीलाई स्वयं नेकपाका नेताहरू राजनीतिक अभिव्यक्तिका रूपमा मात्र लिनुपर्ने बताउँछन् । ‘निर्वाचन परिचालनको जिम्मेवारी लिएर अर्कै उम्मेदवारलाई मत मागेको प्रमाण भेटियो भने उसलाई पार्टीमा दिइने जिम्मेवारीबारे सोच्नुपर्ने हुन्छ, तर घण्टीलाई कसले भोट हाल्यो भनेर खोजी हिँड्ने स्थिति नहोला,’ अर्का एक नेता भन्छन् ।
मुख्यकुरा नेकपामा केन्द्रीय सदस्यहरूको राम्रोसँग पहिचान समेत भएको छैन । २५ सय संख्यामा केन्द्रीय सदस्य बनाउने भनिए पनि नेताहरुले चिन्ने स्थिति छैन । ८ वटा समूहबीच एकता हुँदै केन्द्रीय सदस्यहरुको शपथ भर्चुअल माध्यमबाट गर्नुपरेको थियो । पेरिसडाँडामा सबै केन्द्रीय सदस्य आउन सक्ने र अट्न नसक्ने अवस्था आकलन गरी भर्चुअल माध्यमलाई उपयोग गरिएको थियो ।
त्यसैले कारबाही गर्नुपर्ने नेताहरुको खोजी गर्ने भन्दा पनि समग्र पराजयकै समीक्षा गर्नुपर्ने ती नेता बताउँछन् । ‘भोट कसले हाल्यो वा हालेन भन्ने होइन, किन हारियो भन्ने आधारभूत रुपमै समीक्षा गर्नुपर्छ,’ उनी भन्छन्, ‘समाजलाई किन एजुकेट गर्न सकिएन भन्ने मूल्यांकन गर्नुपर्छ ।’
‘पार्टी पराजयको कारण नेतृत्व पंक्तिबाटै खोज्नुपर्ने’
शंका अथवा प्रमाणका आधारमा केही नेतालाई कारबाही गर्दैमा पार्टी नबन्ने उनको बुझाइ छ । बरू पार्टी पराजयको कारण नेतृत्व पंक्तिबाटै खोज्नुपर्ने उनको तर्क छ । ‘प्रचण्ड कमरेड आफैंले कार्यकर्तालाई अलमलमा पार्नेगरी चुनावकै मुखमा बोल्नुभयो,’ उनी भन्छन्, ‘कांग्रेस र एमालेसँग पनि सहकार्य हुन सक्छ, घण्टीसँग पनि मिल्न सक्छौं भन्ने जस्ता कुरा गरेपछि कार्यकर्ताले के बुझ्ने हो ?’
नेकपाबाट उम्मेदवार समेत रहेका ती नेताका बुझाइमा प्रचण्डकै अभिव्यक्तिले पनि पार्टीको पक्षमा माहोल बन्न सकेन । ‘बालेनसँग भोलि मिल्न पनि पनि सकिन्छ भनेर प्रचण्ड कमरेडले बोल्नुभएपछि दोधारमा रहेका धेरैले घण्टीमा भोट हाल्ने भए, हाले पनि होलान्,’ उनी भन्छन् ।
झापा–१ बाट उम्मेदवार रहेका नेता अशेष घिमिरे पनि चुनावी पराजयको व्यक्तिगत कारण खोज्नतिर पार्टी लाग्न आवश्यक नरहेको बताउँछन् । ‘कम्युनिस्टहरुले केही दशकदेखि बहुमत पाइरहेको छ, तर भूमिहीनले धनीपुर्जा पाएका छैनन् । पार्टी मात्रै फरक छ, नेताहरूको बोली एउटै छ,’ घिमिरे भन्छन्, ‘हामीले कम्युनिष्ट पार्टीकै समीक्षा गर्न जरूरी छ । निर्वाचन हाम्रो पक्षमा किन भएन भन्ने बुझ्न जरुरी छ ।’
उनको विश्लेषणमा यो निर्वाचनबाट मार्क्सवादीहरु पराजित भएर उत्तरआधुनिकवादले जितेको छ । ‘कम्युनिष्ट पार्टीहरु वर्ग पक्षधर विचारबाट अलग्गिएपछि उत्तर आधुनिकवादको यो हमला हो,’ घिमिरे भन्छन्, ‘यसले संगठन, सामूहिक शक्तिलाई कमजोर बनायो । व्यक्तिको दानवीकरण र हिरोकरण गर्दै चुनावी नतिजा प्रभावित बनायो ।’ दलहरुको विरोधमा दल नै बनाएर आएको शक्तिहरुको हमला बुझ्न नसक्नुको कारण खोजी गर्नपर्ने उनी बताउँछन् ।