मुख्य समाचार
राजनीतिक नियुक्तिको विषयमा भएको विवाद नेकपा एमाले प्रदेश संसदीय दलको नेता परिवर्तन गर्ने तहसम्म
राजनीतिक नियुक्तिको विषयमा भएको विवाद नेकपा एमाले प्रदेश संसदीय दलको नेता परिवर्तन गर्ने तहसम्म

। राजनीतिक नियुक्तिको विषयमा भएको विवाद नेकपा एमाले प्रदेश संसदीय दलको नेता परिवर्तन गर्ने तहसम्म पुगेको छ ।

संसदीय दलका नेता राजेन्द्र सिंह रावलले अस्पताल व्यवस्थापन समिति लगायतको नियुक्ति गर्दा परामर्श नगरी एकलौटी गरेको भन्दै एमाले सुदूरपश्चिम प्रदेश कमिटीले पार्टी केन्द्रको ध्यानाकर्षण गराएको छ ।




‘सरकारका विभिन्न निकायमा राजनीतिक नियुक्ति गर्दा उहाँले पार्टी कमिटीमा कुनै परामर्श गर्नुभएको छैन । आफूखुसी सिफारिस गर्ने काम गर्नुभएको छ,’ एमाले प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले भने, ‘हामीले यिनै विषयमा लेखेर पार्टी केन्द्रलाई पठाएका छौँ ।’

पूर्वमुख्यमन्त्री रावल पार्टीको सम्पर्कमा नै नरहने गरेको आरोप लगाइएको छ । उनी सम्पर्कविहीन भएको भन्दै राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरको कृष्णपुर नगर कमिटीले आइतबार संसदीय दलको कार्यालयमै तालाबन्दी गरेको छ ।




तालाबन्दी गर्ने युवाहरुले रावलले राजनीतिक नियुक्तिमा एकलौटी गरेको, प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारलाई असहयोग गर्ने व्यक्तिलाई नियुक्ति दिलाएको, पटक–पटक प्रयास गर्दा पनि सम्पर्कमा नआउने गरेका जस्ता आरोप लगाएको छ ।

रावल के भन्छन् ?



तर रावलले भने आफूमाथि लगाइएका आरोपमा कुनै सत्यता नभएको दाबी गरेका छन् । अहिलेसम्म पार्टीको भागमा परेको महाकाली प्रादेशिक अस्पतालको व्यवस्थापन समितिका पदाधिकारी र सदस्य मात्र नियुक्त गरेको बताउदै पार्टीकै परामर्शमा भएको बताए । पार्टीका प्रदेश अध्यक्ष सहितका नेताहरुसँग परामर्श गरेरै सबै नियुक्तिका लागि सिफारिस गरिएको उनी बताउँछन् ।

‘पार्टीका प्रदेश अध्यक्ष कमरेड लगायतसँगको परामर्शअनुसार नै विभिन्न नियुक्तिका लागि सिफारिस गरिएको छ,’ रावलले भने, ‘अहिले आएर उहाँहरु गलत आरोप लगाएर भ्रमपूर्ण कुरा फैलाइरहनुभएको छ । किन हो मलाई थाहा छैन ।’

रावलले यो बीचमा स्वास्थ्य समस्या देखिएकाले नेताहरुको सम्पर्कमा आउन नसकेको बताए ।

खप्तड पर्यटन विकास समितिको अध्यक्षमा बझाङकी जमुना चन्दलाई सिफारिस गर्दा विवाद निकाल्न खोजिएको पनि रावलले बताए । ‘महिला पनि कार्यकारी भूमिकामा आउनुुपर्छ भनेर सिफारिस गर्नु मेरो गल्ती हो र ? सबै कुुरा उहाँहरुले नै भनेको हुन्छ ? कुनै कुरामा संसदीय दलको नेताको निर्णय पनि मान्नुपर्छ होला,’ रावलले भने, ‘प्रदेशको अध्यक्षले जे–जे भन्यो त्यही गर्न जिम्मेवारीमा आएको होइन ।’

एक नेताका अनुसार रावलको कार्यशैलीमाथि प्रश्न उठाउदै संसदीय दलको नेता फेर्नेगरी पार्टी नेता र प्रदेश सांसदहरु लागिपरेका छन् । तर दलको नेतामा आकांक्षी रहेकाहरु पार्टी केन्द्रको निर्देशन कुरिरहेको उनी बताउँछन् ।

‘उहाँ (रावल) को कार्यशैलीका कारण पार्टीमा समस्या आइरहेको छ । अब विकल्प खोजेर अघि बढ्नुुपर्छ भन्ने पक्षमा सबै जना हुनुहुन्छ,’ एक सांसद भन्छन्, ‘यो विषयमा प्रदेशले पार्टी केन्द्रलाई लेखेर पठाएको छ । केन्द्रबाट कस्तो खालको निर्देशन आउँछ भन्ने कुरा कुरिरहेका छौँ ।’

तीन नेताको आकांक्षा

एमाले सुदूरपश्चिम प्रदेश सभामा ११ जना सांसद छन् । उनीहरु मध्ये रावल संसदीय दलको नेता छन् भने सन्तोष शर्मा थापा उपनेता छन् ।

कोइलीदेवी चौधरी उपसभामुख छिन् । डोटीबाट निर्वाचित चक्रबहादुर मल्ल प्रमुख सचेतक छन् भने बैतडीकी सांसद जानकी कुँवर बम सचेतक हुन् ।

एमालेबाट तीन जना मन्त्री छन् । सुरेन्द्र बहादुर पाल भौतिक पूर्वाधार विकास मन्त्री, बिरबहादुर थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री, हिरा पार्की आन्तरिक मामिला तथा कानुन मन्त्री र निर्मला साउद भौतिक पूर्वाधार विकास राज्यमन्त्री छन् । धर्मराज पाठक सामाजिक विकास समितिको सभापति छन् ।

दलको नेता बन्न अहिलेकी उपनेता सन्तोष शर्मा थापा, प्रमुख सचेतक चक्रबहादुर मल्ल र सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले आकांक्षा राखेको स्रोत बताउँछ ।

‘उहाँहरु तीनै जनाले दलको नेतामा दाबी गर्दै आ–आफ्नो ढंगले छलफल चलाइरहनुभएको छ । तर व्यक्तिगत आकांक्षाले मात्र हुँदैन,’ एक सांसदले भने, ‘पार्टीको केन्द्र र प्रदेशको राय, परामर्श र निर्देशनका कुराहरु पनि होलान् ।’

थापाले आफू उपनेता भएकाले दलको नेता दावी गर्नु स्वभाविक हुने बताउने गरेका छन् । केन्द्रीय सदस्य मल्ल पनि आफ्नो पक्षमा माहोल बनाउन सक्रिय छन् ।

सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले पनि आफू युवा भएको र संसदीय दलको नेतृत्व गर्न सक्ने क्षमता भएको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा भेटवार्ता गरेका छन् । सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्णरुपमा निकास भएको भन्दै बधाई ज्ञापन पनि गरे । ‘समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ । यो सामान्य कुरा होइन । यो ...
। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका–७ बस्ने बर्दिया घर भएका ३६ वर्षीय अर्जुन बहादुर पौडेल, ललितपुर महालक्ष्मी नगरपालिका–७ बस्ने सर्लाही घर भएका ४६ वर्षीय डिल्ली राम भुजेल, काठमाडौं महानगरपालिका–१६ बस्ने ४३ वर्षीया उमा गुरूङ, ललितपुर ...
। गृह मन्त्रालयले नेपाली मुलका विदेशी नागरिक र गैरआवासीय नेपालहरूका लागि त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थल अध्यागमनमा छुट्टै डेस्क राख्ने भएको छ । अध्यागमन विभागले आइतबार विमानस्थल कार्यालयलाई पत्राचार गर्दै छुट्टै डेस्क राख्न निर्देशन दिएको हो । अब जुनसुकै देशका नागरिक भएपनि नेपाली मूलको रहेछ भने विमानस्थलमा विदेशीहरूको लाइनमा बस्नुपर्ने छैन । ‘विश्वका विभिन्न मुलुकहरुमा छरिएर रहेका गैरआवासीय ...
। नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौला पन्तले पार्टी सभापति गगनकुमार थापाको राजीनामा समस्या समाधान नभएको बताएकी छिन् । हालै भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले आशा गरे अनुरुपको नतिजा हासिल गर्न नसक्नुमा सभापति थापाको मात्रै दोष नभएको प्रष्ट पारिन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आइतबार धारणा राख्दै सहमहामन्त्री संग्रौलाले ३५ वर्षसम्म देशको र लोकतान्त्रिक ...
। पाल्पाको तिनाउ खोलामा डुबेर दुई भारतीय पर्यटक बेपत्ता भएका छन् । तिनाउ गाउँपालिका-३, दोभान ड्यामसाइडस्थित जलविद्युत आयोजनाको हेडबक्सनजिक उनीहरू डुबेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ जनाको समूहमा रहेका उनीहरूमध्ये २ जना पुरुष बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीका अनुसार उनीहरू डुबेर बेपत्ता भएको थाहा पाएपछि स्थानीय, सशस्त्र ...