— जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थी घटेका छन् । गत वर्षभन्दा विद्यार्थी संख्या घटे पनि विद्यालयको संख्या भने बढेको छ ।
गत वर्षभन्दा यस वर्ष एसईई दिने विद्यार्थी ३ सय ८६ जना घटेका हुन् भने एसईईमा सहभागी हुने ६ विद्यालय बढेका छन् । गत वर्ष ४ हजार ३ सय ७ जना विद्यार्थीले एसईई दिएका थिए भने यस वर्ष ३ हजार ९ सय २१ परीक्षार्थी मात्रै सहभागी हुने भएका छन् ।
यस्तै ग्रेडवृद्धितर्फ पनि ४ सय २५ विद्यार्थी घटेका छन् । ग्रेड वृद्धितर्फ गत वर्ष १ हजार ५५ जना सहभागी भएकामा यस वर्ष ६ सय ३० परीक्षार्थी मात्रै सहभागी हुने शिक्षा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले बताए ।
बैतडीमा १ सय ३८ सामुदायिक र ४ संस्थागत गरी १ सय ४२ विद्यालयका परीक्षार्थीले एसईईमा सहभागिता जनाउने उनले बताए । गत वर्ष सामुदायिक र संस्थागत गरी जम्मा १ सय ३६ विद्यालयका विद्यार्थी मात्र एसईईमा सहभागी भएका थिए ।
यही चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि यहाँ २६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । सात प्राविधिक विद्यालयका परीक्षार्थीका लागि पाटनस्थित भीमदत्त बहुप्राविधिक शिक्षालयमा परीक्षा केन्द्र तोकिएको छ ।
अभिभावकको सामुदायिक विद्यालयप्रतिको अविश्वास र पहाडको उच्च बसाइँसराइले गर्दा प्रत्येक वर्ष विद्यालयमा विद्यार्थी भर्ना हुने संख्या घट्दै गइरहेका कारणले नै एसईई दिने विद्यार्थी संख्या प्रत्येक वर्ष घटिरहेको शिक्षा समन्वय इकाइ प्रमुख नरेन्द्र अवस्थीले जानकारी दिए ।