मुख्य समाचार
सूर्यविनायक–धुलिखेल सडक विस्तारमा माग गरेअनुसार अझै बजेट उपलब्ध हुन सकेको छैन
सूर्यविनायक–धुलिखेल सडक विस्तारमा माग गरेअनुसार अझै बजेट उपलब्ध हुन सकेको छैन

— अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तारमा माग गरेअनुसार अझै बजेट उपलब्ध हुन सकेको छैन । दुई जिल्ला भक्तपुर र काभ्रे जोड्ने १५.८ किलोमिटर सडक विस्तारमा चालु आर्थिक वर्षमा विनियोजन भएको बजेट अपुग भएको हो ।

चालु आर्थिक वर्षमा आयोजनाले ३ अर्ब रुपैयाँ माग गरेको थियो । तर सडक र पुल निर्माणका लागि ७० करोड रुपैयाँ मात्र विनियोजन भएको थियो, जसमा ६० करोड सडक विस्तारमा र १० करोड पुल निर्माणका लागि छुट्याइएको थियो । उक्त रकम अपुग भएर निर्माणकै क्रममा थप १५ करोड रुपैयाँ पाए पनि त्यो पनि सकिइसकेको सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतोले बताए ।

‘रफ्तारमा काम भइरहेको छ, तर पर्याप्त बजेट छैन,’ महतोले भने, ‘बजेट अभावले काम नै रोकिसकेको छैन, माग गरेअनुसार बजेट नआए काम प्रभावित बन्ने जोखिम धेरै छ ।’ समयमै बजेट उपलब्ध गर्न माग गरिरहेको उनको भनाइ छ । ‘चालु आर्थिक वर्षमा अब कम्तीमा एक अर्ब चाहिन्छ,’ उनले भने, ‘दुवै खण्डमा नाली बनाउने काम सकिने चरणमा छ, ठेक्का भएको एउटा खण्डमा कालोपत्र भइरहेको र अर्को खण्डमा सुरु गर्ने तयारी छ ।’ बेस र सबबेस राखेर कालोपत्र गर्ने तयारी भइरहेको उनको भनाइ छ । यही सडक भएर सवारीसाधन बीपी राजमार्ग हुँदै पूर्वी पहाड र तराईका जिल्ला पुग्ने गरेका छन् ।

‘तत्काललाई ६० करोड रुपैयाँ माग गरिएको हो, सडक विभागले २० करोड रुपैयाँ रकमान्तरका लागि सिफारिस गरेर अर्थ मन्त्रालयमा पठाएको छ,’ महतोले भने, ‘तर अहिलेसम्म खातामा पैसा आइसकेको छैन ।’ यो सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का गरिएको छ । रकमान्तर माग गरेर अर्थमा पठाइसकिएको सडक विभागका महानिर्देशक विजय जैसीले जनाए । ‘काम भइरहेका आयोजनाको बजेट रोक्न भएन,’ उनले भने, ‘यस खण्डमा राम्रो काम भइरहेको छ, बजेट अभाव नभए कामको गति बढ्ने थियो ।’

सडक विभागबाट २० करोड रुपैयाँ माग भई आएकाले जुन उपलब्ध गराउने प्रक्रियामा रहेको अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए । ‘सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि बजेट माग भई आएको छ,’ उनले भने, ‘जुन प्रक्रियामा रहेकाले एक/दुई दिनभित्र उपलब्ध हुन्छ ।’

दुई खण्डमध्ये एउटा खण्ड हो, सूर्यविनायक–साँगा । यो खण्डको दूरी ७.५ किमि छ । यस खण्डको ठेक्का आशिष–कुमार श्रेष्ठ–बन्धन भगवती जेभीले २४ पुस २०७९ मा लिएको हो । जसको ठेक्का रकम ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ रहेकामा प्रगति ४८ प्रतिशत छ । यस खण्डमा कालोपत्र भइनसकेको र दुई किमिमा कालोपत्र गर्ने तयारी हुँदै छ । अहिले सूर्यविनायकदेखि जगातीसम्म कालोपत्र गर्न लागिएको हो ।

‘अबको ८/१० दिनभित्र यस खण्डमा कालोपत्रको काम सुरु हुन्छ,’ पाण्डेयले भने, ‘साँगा खण्डमा १ किमि अन्डरपास बनिरहेको छ, यसको काम ६० प्रतिशत सकिसकेको छ,’ प्रमुख महतोले भने, ‘आउने बर्खाअघि नै अन्डरपासबाट सवारीसाधन आउजाउ गर्न पाउनेछन् ।’ म्याद गत २७ पुसमा सकिएर २९ फागुन २०८३ सम्म थप गरिएको छ ।

काम भइरहेको अर्को खण्ड हो, साँगा–धुलिखेल । यस खण्डको दूरी ८.३ किमि र निर्माण प्रगति ६८ प्रतिशत छ । साढे दुई किमि सडक कालोपत्र भइसकेको छ । ३ किमि ६ लेन सडक कालोपत्र भएको आयोजनाले जनायो । यस खण्डको ठेक्का लामा कन्स्ट्रक्सनले २७ मंसिर २०७९ मा ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा लिएको हो । म्याद गत २७ मंसिरमा सकिसकेको र अहिले २३ मंसिर २०८३ सम्म थप गरिएको छ । अहिलेसम्म समग्र आयोजनाको निर्माण प्रगति ५६ प्रतिशत छ ।

यस सडक खण्डमा पर्ने तीन वटा पुलको भने छुट्टै ठेक्का गरिएको छ । पुलको ठेक्का हिमदुङ एन्ड थोकर–रामजानकी जेभीले लिएका छन् । सडक निर्माण आधाभन्दा बढी सकिँदा पुल निर्माणले भने अझै गति लिन सकेको छैन । तीन वटा पुलको एउटै प्याकेजमा ठेक्का गरिएको आयोजनाले जनायो ।

दुई पुलको बल्ल निर्माण गर्ने सुरसार गरिँदै छ । एउटा पुलको मात्र काम भइरहेको छ । ठेक्का डिजाइन एन्ड बिल्ड प्रविधिमा भएको हो । ६ चैत २०७९ मा गरिएको सम्झौताअनुसार ५ असोज २०८२ भित्र पुल निर्माण सकिसक्नुपर्ने हो । भ्याटसहित तीनवटा पुलको ठेक्का रकम ५७ करोड ५० लाख रुपैयाँ छ । सम्झौता अवधिमा काम नसकिएपछि अहिले ५ मंसिर २०८३ सम्म म्याद थप गरिएको छ ।

जगाती पुल भक्तपुर र पुण्यमाता तथा महादेव खोला पुल काभ्रेमा पर्छन् । महादेव खोला पुलमा काम भइरहेको र निर्माण प्रगति १२ प्रतिशत छ । पुण्यमाता र जगाती पुलको सुरुको डिजाइनमा पुनर्विचार गरेर बल्ल निर्माण थाल्न लागिएको आयोजनाले जनायो । अहिले निर्माण सामग्री झारेर काम सुरु गर्न लागिएको आयोजना प्रमुख महतोको भनाइ छ । महादेव खोलामा भने धमाधम काम भइरहेको छ ।

आयोजनामा अर्को समस्या विद्युत्का पोल सार्नेको छ । ‘सूर्यविनायक–साँखु खण्डमा ६० वटा र साँखु–धुलिखेल खण्डमा ४० वटा पोल सार्न बाँकी छ, जसले गर्दा काममा ढिलाइ भइरहेको छ,’ महतोले भने, ‘नेपाल विद्युत् प्राधिकरणमार्फत ठेक्का भएर पोल सार्ने काम गरिएको हो, एउटै व्यवसायीले धेरैतिर ठेक्का लिँदा सार्न ढिलाइ भइरहेको छ ।’ उनका अनुसार चालु आर्थिक वर्षमा १ अर्ब बजेट उपलब्ध भए समग्र निर्माण प्रगति ७० प्रतिशतभन्दा बढी पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
रुकुम पश्चिमको चौरजहारीबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको सल्यानको कुमाख गाउँपालिकाको एम्बुलेन्समा एक समूहले आक्रमण गरेको छ । कुमाख गाउँपालिकाको कर्णाली प्रदेश ०२.००१ झ ०१३८ नम्बरको एम्बुलेन्समा सुर्खेतको छिन्चुनजिकै रामघाट बजारमा गएराति १० बजेतिर एक समूहले आक्रमण गरेको हो । आठ/नौ जनाको समूहमा आएका युवाले एम्बुलेन्स तोडफोड गर्नुका साथै आफूलाई कुटपिट गरेको चालक वसन्त शर्माले ...
— कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका गुल्मपति प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप पौडेलसहितका कर्मचारीलाई जिम्मेवारीबाट फिर्ता बोलाइएको छ । सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टका अनुसार, युनिट सुरक्षामा भएको लापरबाहीबारे छानबिन गर्न टोलीलाई काठमाडौं झिकाइएको हो । भारतबाट ४ चैतमा अवैध रुपले ल्याउँदै गरेको सामान पक्राउको विषयलाई लिएर तस्करीमा संलग्न ...
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद नबनेपछि गायक प्रकाश सपुतले आफ्नो राजनीतिक यात्राबारे स्पष्टीकरण दिएका छन्। शनिबार सामाजिक सञ्जालमा उनले आफू संसद् छिर्न नपाए पनि चुनावी मैदानमा बोकेका उद्देश्य पूरा भएकामा कुनै गुनासो नरहेको बताएका छन्। पार्टी सभापति रवि लामिछानेले फोन गरेर ‘तपाईं छुट्नुभयो’ भनी जानकारी गराएको उल्लेख गर्दै सपुतले आफूलाई अब कुनै सरकारी नियुक्ति ...
— वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा मकवानपुर प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले ठगी गरेको अभियोगमा मकवानपुरको राक्सिराङ गाउँपालिका–१ की ३७ वर्षीया धनसानी गोलेलाई पक्राउ गरेको हो । प्रहरीले गोलेलाई वैदेशिक रोजगार ठगी सम्बन्धी कसुर मुद्दामा जारी भएको पक्राउ पुर्जी बमोजिम पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला ...
— पाल्पामा टिप्पर दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ। मृत्यु हुनेमा अर्घाखाँची सितगंगा नगरपालिका–४ सिद्दाराका २६ वर्षीय चिन्ताबहादुर सुनार (चालक), सोही स्थानका २६ वर्षीय सुनिल बि.क., रुपन्देही देवदह नगरपालिका–२ खैरेनीका २६ वर्षीय सुनिल नेपाली र पाल्पा तानसेन नगरपालिका–१० का ३३ वर्षीय राजन चिदी रहेका छन्। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका ...