: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कसैले पनि आफूलाई वीरगञ्ज महानगरपालिकाको मेयर पदको उम्मेदवार बताउँदै प्रचार प्रसार नगर्न पार्टीका नेता–कार्यकर्ताहरुलाई सचेत गराएको छ ।
फागुन २१ को निर्वाचनबाट पर्सासहित देशैभरबाट रास्वपाको झण्डै दुई तिहाई बहुमत आएलगत्तै फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालबाट रास्वपाका केहि युवा नेताहरुले आगामी स्थानीय तहको निर्वाचनमा आफू वीरगञ्ज महानगरको मेयर र वडाध्यक्ष पदको उम्मेदवार बन्ने प्रचार प्रसार गर्दै र गराउँदै आएका छन् ।
त्यसैलाई लक्षित गरी शनिबार रास्वपा पर्साले एक प्रेस विज्ञप्ति नै जारी गरेर त्यस्ता प्रचार प्रसार नगर्न सचेत गराएको हो । रास्वपा पर्साका सचिव सुदिश प्रजापतिले विज्ञप्ति जारी गर्दै रास्वपा पर्साले कसैलाइ पनि कुनै पनि पदको उम्मेदवार निश्चित नगरेकाले त्यस्ता गलत, भ्रामक र कपोल–कल्पित कुराहरुमा विश्वास नगर्न तथा त्यस्ता व्यक्ति तथा समूहबाट सावधान रहन समेत अनुरोध गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ–विगत केहिदिन यता केही व्यक्ति तथा समूहहरुले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट वीरगञ्ज महानगरपालिका लगायत अन्य पालिकाहरुको मेयर एंव वडाअध्यक्ष पदको उम्मेदवार हुँ भने फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालहरुबाट प्रचार प्रसार गरिरहेको पाइएकाले आजको मितिदेखि त्यस्ता गलत क्रियाकलापहरु नगर्न तथा नगराउन सचेत गराउँदछौं।