: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस र स्पेन पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा काभ्रेको रोशी गाउँपालिका-६ घर भई काठमाडौं नागार्जुन नगरपालिका-३ बस्ने ३८ वर्षीय रकम बहादुर लोप्चन तामाङ र सिराहाको मिर्चैया नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३१ बस्ने २२ वर्षीय लक्ष्मण कुमार यादव रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार तामाङले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितबाट २५ लाख रुपैयाँ र यादवले स्पेन पठाइदिन्छु भन्दै ५ जना पीडितबाट १३ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए।
पीडितहरूको उजुरीका आधारमा कार्यालयबाट खटिएको प्रहरीले तामाङलाई काठमाडौं महानगरपालिका-१३ बाट र यादवलाई काठमाडौं महानगरपालिका-३१ बाट बिहीबार पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।