: साथीहरूसँग रारा घुम्न आएकी एक आन्तरिक पर्यटकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार काठमाडौं महानगरपालिका–धुम्बाराही निवासी अन्दाजी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार घिमिरे चैत १ गते काठमाडौंबाट नेपालगञ्ज उपमहानगरपालिका–२ का शिशिर घिमिरे र विशाल सुवेदीसँग रारा घुम्नका लागि प्रस्थान गरेकी थिइन् । उनीहरू चैत ३ गते रारा पुगेका थिए । रारा बसाइका क्रममा उनीहरूले सल्लेरीस्थित डाँफे होटलमा एक रात र हुटुमा रहेको सोही होटलको अर्को शाखामा एक रात गरी दुई रात बिताएका थिए ।
चैत ५ गते नेपालगञ्ज फर्किने क्रममा सल्लेरीस्थित डाँफे होटलमै घिमिरेको स्वास्थ्य अवस्था एक्कासी बिग्रिएको प्रहरीले जनाएको छ । साथमा रहेको औषधि प्रयोग गर्दा पनि सुधार नआएपछि साथीहरूले उनलाई जिल्ला अस्पताल मुगु पु¥याएका थिए । अस्पतालमा उपचारकै क्रममा चैत ६ गते बिहान ७ बजेर २५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी दिए ।
प्रहरीका अनुसार मृतकको मुचुल्का उठाइसकिएको छ । परिवारको आग्रहअनुसार शवलाई पोष्टमार्टमका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ । रारा क्षेत्रमा घुम्न आउने आन्तरिक पर्यटकहरूमा उच्च भौगोलिक क्षेत्रका कारण विभिन्न स्वास्थ्य समस्या देखिने गरेको छ । यसअघि पनि यस्तै कारणले चार जनासम्मको ज्यान गएको स्थानीयहरू बताउँछन् ।
रारा क्षेत्रको सल्लेरी आसपास अक्सिजन सिलिण्डर, औषधि र स्वास्थ्यकर्मीसहितको पूर्वाधारको व्यवस्था गर्न नसक्दा भविष्यमा थप मानवीय क्षति हुन सक्ने भन्दै स्थानीय होटल व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले छायाँनाथ रारा नगरपालिका, कर्णाली प्रदेश सरकार र संघीय सरकारलाई आवश्यक स्वास्थ्य पूर्वाधारको शीघ्र व्यवस्थापन गर्न आग्रह गरेका छन् ।