। विश्वमा शान्ति, करुणा र सद्भावको सन्देश फैलाउने उद्देश्यसहित बुद्ध जन्मस्थल लुम्बिनीमा तीन दिने लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव–२०२६ सुरु भएको छ ।
चिनियाँ दूतावासको संयोजनमा आयोजना गरिएको यो महोत्सवमा ध्यान, सांगीतिक प्रस्तुति (कन्सर्ट) र पिस म्याराथन समावेश गरिएका छन् । महोत्सवले विश्व शान्ति, अन्तर–सांस्कृतिक समझदारी र आरोग्य जीवनशैली प्रवर्द्धनमा जोड दिएको छ ।
तीन दिने महोत्सव अन्तर्गत आज बिहान आयोजित ध्यान कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले लुम्बिनीलाई केवल ऐतिहासिक सम्पदा मात्र नभई विश्व मानवताको साझा धरोहरको रूपमा सबैले ग्रहण गर्नुपर्ने बताए । उनले वर्तमान विश्वमा बढ्दो द्वन्द्व, असहिष्णुता र मानसिक विभाजनका चुनौतीबीच बुद्धका शिक्षाहरूको महत्व अझ बढ्दै गएको उल्लेख गरे ।
मन्त्री सिन्हाले लुम्बिनी आध्यात्मिक पर्यटनको विश्वस्तरीय गन्तव्य भएको उल्लेख गर्दै सरकारले लुम्बिनीको दिगो विकास,संरक्षण तथा प्रवर्द्धनप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए । ‘हामीलाई विश्वास छ लुम्बिनीले विश्व शान्ति संवाद, अन्तर–सांस्कृतिक समझदारी तथा आध्यात्मिक चिन्तनका लागि एक विश्व केन्द्रको रूपमा भूमिका निर्वाह गर्न सक्छ र बुद्धका अनन्त सन्देशहरूलाई विश्वभर फैलाउन र नयाँ पुस्तालाई करुणा तथा सद्भावतर्फ प्रेरित गर्न मद्दत गर्नेछ,’ मन्त्री सिन्हाले भने ।
बुद्ध जन्मस्थल लुम्बिनीसँग जोडिएका तिलौराकोट, देवदह र रामग्रामलाई विश्वशान्ति सहरको रुपमा विकास गर्न लुम्विनी विकास कोष, स्थानीय समुदाय, मित्रराष्ट्र तथा आम सरोकारवाला सबैको सहकार्य जरुरी रहेकोमा उनले जोड दिए ।
‘लुम्बिनी केवल ऐतिहासिक सम्पदा मात्र होइन, यो विश्व शान्ति र मानवताको पवित्र प्रतीक हो,’ उनले भने, ‘करिब २६ सय वर्षअघि यही भूमिबाट बुद्धले दिएका करुणा, सहिष्णुता र समझदारीका सन्देश आजको विश्वका लागि झनै सान्दर्भिक बनेका छन् ।’
हालै संयुक्त राष्ट्र संघको महासभाबाट नेपालको प्रस्तावमा प्रत्येक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा मनाउने निर्णयलाई नेपाल सरकारले ऐतिहासिक उपलब्धिका रूपमा लिएको मन्त्री सिन्हाले उल्लेख गरे । उक्त निर्णयले नेपाली नागरिकलाई स्वस्थ जीवनशैली, मानसिक स्वास्थ्य संरक्षण र प्रकृतिसँग सन्तुलित जीवनप्रति विश्वव्यापी चेतना फैलाउने मन्त्री सिन्हाले बताए ।
महोत्सवले नेपालका हिमालय, प्राकृतिक स्रोत, आध्यात्मिक परम्परा र सांस्कृतिक सम्पदालाई आरोग्य पर्यटनको सम्भावित विश्व केन्द्रका रूपमा प्रस्तुत गर्ने लक्ष्य लिएको उनको भनाइ छ । ‘यो नेपालका लागि कूटनीतिक तथा सांस्कृतिक दृष्टिले ऐतिहासिक उपलब्धि हो, विश्वभरका मानिसहरूलाई स्वस्थ जीवनशैली अपनाउन, मानसिक स्वास्थ्यको संरक्षण गर्न, प्रकृतिसँग सन्तुलित जीवन बिताउन तथा सामाजिक सद्भावलाई बलियो बनाउन प्रेरित गर्ने सन्देश हो,’ उनले भने, ‘नेपालमा रहेका हिमालय, प्राकृतिक स्रोत,आध्यात्मिक परम्परा र सांस्कृतिक सम्पदाहरु आरोग्यका अनुपम गन्तव्यहरु हुन्, यी आकर्षक गन्तव्यको सन्देश विश्वभर पुर्याउन बुद्धिज्मको उत्पत्ति र शान्तिको सन्देश दिने पवित्र भूमिमा आयोजित लुम्बिनी अन्तराष्ट्रिय शान्ति महोत्वस सशक्त माध्यम पनि बनोस् ।’
मन्त्री सिन्हाले नेपालस्थित चिनियाँ राजदूतावास तथा अन्य सहयोगी संस्थाहरूको भूमिकाको प्रशंसा गर्दै नेपाल–चीन बीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे । ‘नेपाल र चीनबीचको सम्बन्ध भौगोलिक सीमाभन्दा पर, सांस्कृतिक र आध्यात्मिक रूपमा गहिरो रूपमा जोडिएको छ,’ मन्त्री सिन्हाले भने । आगामी दिनमा बौद्धकालीन खेलहरूको संरक्षण र प्रवर्द्धनमा ध्यान दिने उनले प्रतिवद्धता जनाए ।
महोत्सवको पहिलो दिन बिहीबार साँझ चिनियाँ टोलीलाई स्वागत गर्न आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले अहिले विश्वभर बढ्दै गइरहेको द्वन्द्वले शान्तिको खोजी भएको बताउँदै बुद्ध जन्मस्थलबाट सबैले त्यसको कामना गर्ने र सन्देश दिने गरी यसखालको कार्यक्रम आयोजना गरिएको बताएका थिए ।
उनले विकास, सुरक्षा र शान्तिको लागि नेपालसँग सधैं सहकार्य गरिरहेको बताउँदै आगामी दिनमा त्यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन् ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनी आध्यात्मिक पर्यटनको विश्वस्तरीय गन्तव्य भएको उल्लेख गर्दै लुम्बिनीले विश्व शान्ति संवाद, अन्तर–सांस्कृतिक समझदारी तथा आध्यात्मिक चिन्तनका लागि विश्व केन्द्रको रूपमा भूमिका निर्वाह गर्न सक्ने बताए । महोत्सवले लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति केन्द्रका रूपमा थप स्थापित गर्ने विश्वास गरिएको बताए ।
नेपाल ओलम्कि कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले तीन दिने महोत्सवको अन्तिम दिन शनिबार लुम्बिनीमा म्याराथन आयोजना गरिएको बताए ।
उनले चीनमा सबैभन्दा धेरै बौद्धमार्गी भएकाले पनि लुम्बिनीसँग यसको गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै लुम्बिनीसँगै कपिलवस्तु, देवदह, रामग्रामसहितका बुद्धिस्थ केन्द्रहरुलाई ध्यानमा राखेर ओलम्पिक कमिटीले निरन्तर कार्यक्रम गरिरहेको जनाए ।
महोत्सव अन्तर्गत शुक्रबार बिहान ध्यान कार्यक्रम भएको र साँझ ५:३० देखि ७:३० बजेसम्म लुम्बिनी पिस कन्सर्ट कार्यक्रम लुम्बिनी स्क्वायर थिएटरमा राखिएको लुम्बिनी विकास कोषका कार्यकारी सदस्य श्याम रोक्काले जानकारी दिए । कन्सर्टमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको सहभागिता रहनेछ । संगीतमार्फत शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले कन्सर्ट आयोजना गर्न लागिएको हो ।
महोत्सवको अन्तिम दिन शनिबार बिहान ६:३० देखि १२ बजेसम्म लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन आयोजना गरिने छ । म्याराथन पवित्र उद्यान क्षेत्रमै सञ्चालन हुनेछ । यसमा देश–विदेशका धावकहरूको सहभागिता रहने छ । आयोजकले देश–विदेशका आगन्तुक, पर्यटक, धर्मगुरु, कलाकार तथा खेलाडीहरूलाई महोत्सवमा सहभागी गराएको छ ।