: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकामा फिल्म निर्माणका नाममा सरकारी बजेट दुरुपयोग गरेको आरोपमा अध्यक्षसहित चारजनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउद,निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह,लेखापाल विमल साउद तथा आरजे २४ न्युज र नव इन्द्रेणी फाउण्डेसनका अध्यक्ष रामजी लम्सालले मिलेमतोमा करिब १२ लाख ७७ हजार २५० रुपैयाँ बराबरको सार्वजनिक रकम हिनामिना गरेको पाइएको हो।
आयोगका अनुसार अभिनेता राजेश हमाल अभिनित फिल्म निर्माणका लागि १५ लाख रुपैयाँ छुट्याएर अनियमितता गरेको उनीहरूविरुद्ध उजुरी परेको थियो। अनुसन्धानका क्रममा सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली,२०६४ विपरीत प्रक्रिया पूरा नगरी सिधै सम्झौता गरिएको पाइएको आयोगले जनाएको छ।
त्यसैगरी प्रतिस्पर्धा बिना सोझै खरिद गरिएको,तोकिएको सीमा भन्दा बढी अग्रिम भुक्तानी दिइएको तथा बैंक जमानत नै नलिई पेश्की उपलब्ध गराइएको पनि आरोपपत्रमा उल्लेख छ। झुट्टा तथा नक्कली बिलको आधारमा खर्च देखाएर रकम दुरुपयोग गरिएको आयोगको ठहर छ।
आयोगले भ्रष्टाचार निवारण ऐन,२०५९ अनुसार मुख्य प्रतिवादीहरूलाई कैद,जरिवाना तथा बिगो असुल उपरको मागदाबी गरेको छ भने सहयोगी भूमिकामा रहेका रामजी लम्साललाई पनि मुख्य कसुरदारसरह सजायको माग गरिएको छ।