— वीरेन्द्रनगर नगरपालिका-१ की १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरण प्रदेश सभामा पुगेको छ । घटना भएको १३ दिन बितिसक्दा पनि वास्तविकता सार्वजनिक नभएको भन्दै कर्णाली प्रदेश सभामा सांसदहरूले गम्भीर चासो व्यक्त गरेका छन् ।
बिहीबार कर्णाली प्रदेश सभाको बैठकमा सांसदहरूले अनुसन्धान ढिलाइप्रति प्रश्न उठाएका छन् । नेकपाका सांसद रणसिं परियारले बलात्कारपछि हत्या भएको आशंका गर्दै अनुसन्धानमा ढिलाइ भएको प्रति आपत्ति जनाए ।
उनले भने, ‘अनुसन्धान किन ढिला भइरहेको छ ? दलित तथा महिलामाथि हुने यस्ता घटनामा राज्य किन गम्भीर देखिँदैन ?’ उनले छिटो र पारदर्शी अनुसन्धान गर्न तथा पहुँचका आधारमा अनुसन्धान प्रभावित हुन नदिन सरकारलाई सचेत गराए । ‘घटनालाई विषयान्तर गर्न खोजिए संसद्बाट कडा प्रतिवाद हुन्छ,’ उनले चेतावनी दिए ।
नेकपाकी सांसद उर्मिला विश्वकर्माले दोषीलाई कानुनी दायरामा ल्याउन राज्यका निकाय जिम्मेवार बन्नुपर्ने बताइन् । उनले भनिन्, ‘छोरीहरूले सुरक्षित र सम्मानजनक रूपमा बाँच्न पाउने वातावरण सुनिश्चित गर्न सम्बन्धित निकाय गम्भीर बन्नुपर्छ । प्रदेशको राजधानीमै पीडितले न्याय नपाए ग्रामीण क्षेत्रमा के अपेक्षा गर्ने ?’
कर्णालीका मुख्यमन्त्री यामलाल कडेँलले पनि संसद्मार्फत घटनाबारे धारणा राखेका छन् । उनले इनिशा विकको परिवारलाई दबाब दिएको भन्ने आरोप अस्वीकार गर्दै केही युट्युबरहरूले सामाजिक सञ्जालमा भ्रम फैलाएको बताए । मुख्यमन्त्री कँडेलले सरकार प्रमुखको हैसियतमा पीडित परिवारलाई सान्त्वना दिन गएको विषयलाई तोडमोड गरेर प्रस्तुत गरिएको दाबी गरे ।