: चन्द्रपुर नगरपालिकाको चाँदीखोलामा भइरहेको अबैध नदीजन्य पदार्थको उत्खननमा सशस्त्र प्रहरीले कार्वाही गरेको छ । बिहीबार बिहानै ८ वटा ट्याक्टर नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
बिहीबार बिहानै खोलामा पुगेको सशस्त्र प्रहरी टोलीले बालुवा बोक्दै गरेका ट्याक्टरहरू नियन्त्रणमा लिएर चन्द्रपुर नगरपालिकाको जिम्मा लगाएको जानकारी दिएको छ । सशस्त्र प्रहरीका अनुसार चाँदीखोलाबाट अवैध रूपमा नदीजन्य वस्तु उत्खनन भइरहेको विशेष सूचनाका आधारमा कारबाही गरिएको हो।
केही समयअघि सो खोलामा भईरहेको अबैध उत्खननका विषयमा अन्नपूर्णले समाचार प्रकाशित गरेको थियो । ‘अवैध उत्खनन रोक्ने अभियान’ चलाइएको सशस्त्र प्रहरी बेस सन्तपुरका प्रमुख बिश्व जीसीले बताए । चाँदीखोलामा लामो समयदेखि निरन्तर अवैध उत्खनन भइरहेको छ, तर सम्बन्धित निकायले आँखा चिम्लिँदै आएको आरोप छ । नगरपालिकाले भने सशस्त्रबाट बुझिएका ट्याक्टरमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।