— जेनजी आन्दोलन र प्रदर्शनपछि कपिलवस्तु कारागारमा आगजनी गरी फरार भएका मायादेवी गाउँपालिका–६ का १९ वर्षे सद्दाम हुसेन फकिर मोटरसाइकल चोरी अभियोगमा पक्राउ परेका छन् ।
समूह बनाएर मोटरसाइकल चोरी गर्दै आएका उनी भदौ २५ गते बिहान कारागारबाट भागेका थिए । उनी कारागारबाट भागेपछि आफ्ना दशी प्रमाण नष्ट गर्ने भन्दै अदालतमा गएर आगजनी गर्ने नाइकेका रूपमा समेत रहेको निमित्त प्रहरी प्रवक्ता तथा निरीक्षक दीपक कुँवरले बताए ।
सीमावर्ती नेपाली बजार मर्यादपुर, कृष्णनगर र तौलिहवाबाट शृंखलाबद्ध रूपमा मोटरसाइकल चोरी हुन थालेपछि प्रहरी सक्रिय भएको थियो । दिनहुँजसो मोटरसाइकल हराउन थालेपछि खोजतलास गर्ने क्रममा मर्यादपुरबाट मोटरसाइकल चोर्ने क्रममा सीसीटीभी फुटेजका आधारमा नाइके फकिर पक्राउ परेका हुन् । उनी पक्राउ परेपछि मोटरसाइकल गिरोह नै फन्दामा परेको हो । हुसेनले मोटरसाइल चोर्न गिरोह नै बनाएका थिए । फकिर पक्राउ परेपछि प्रहरीले नेपाली र भारतीय नम्बर प्लेटका ५ वटा चोरीका मोटरसाइकलसमेत बरामद गरेको छ ।
फकिरसँगै मोटरसाइकल चोर्ने गिराहेमा कपिलवस्तु नगरपालिका–३ का २२ वर्षीय शुभम खड्का, कृष्णनगर नगरपालिका– ८ का २२ वर्षीय एजाज खाँ र भारत उत्तर प्रदेश, गोन्डाका १९ वर्षीय मोहम्मद सलमान रहेको र उनीहरू सबैलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख उपरिक्षक सन्तोष आचार्यले बताए । नाइके फकिरलाई यसअघि जिल्ला अदालतले हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो । उनी ०८१ मंसिर १० गते कारागार चलान भएका थिए ।
पक्राउ परेका नाइकेसहित चार जनाको मुलुकी अपराध संहिता, २०७४ को चोरी तथा डाँकासम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।