— राष्ट्रिय स्वतन्त्र पार्टीले ललितपुरको एक होटलमा नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तालिम दिइरहेको छ । सांसद निर्वाचित भएपछि र संसदमा पुगेपछि गर्न हुने र गर्न नहुने तथा सांसदका काम, कर्तव्य र अधिकारबारे विज्ञहरूबाट रास्वपाले अभिमुखीकरण दिइरहेको छ ।
मंगलबार र बुधबार दुई दिनका लागि आयोजना गरिएको सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रममा पार्टी सभापति रवि लामिछानेले समापनका क्रममा सम्बोधन गर्दैछन् । बुधबार हुन लागेको समापन कार्यक्रममा लामिछानेले सम्बोधन गर्न लागेको प्रवक्ता एवं सांसद मनिष झाले जानकारी दिए ।
लामिछाने अस्वस्थ रहेका अवस्थामा पनि सांसदहरूका लागि आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्न आउन लागेका हुन् ।
पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन्द्र शाह भने सांसदहरूका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा नआउने भएका छन् । प्रवक्ता झाले वरिष्ठ नेता शाह अभिमुखीकरण कार्यक्रममा सहभागी नहुने बताए । अस्वस्थ, आगामी सरकार गठनको तयारीलगायतका काममा व्यस्त हुनु परेकाले शाह आउन नसक्ने प्रवक्ता झाको भनाइ छ ।
रास्वपाबाट प्रतिनिधिसभामा १८२ सांसद निर्वाचित भएका छन् ।