— वारि भीमदत्त नगरपालिका–९ मुसेट्टी नजिकै चुरेमा पर्ने कवानीको डाँडो । पारि भारततर्फ उत्तराखण्डको चम्पावत जिल्लामा पर्ने पूर्णागिरि माताको मन्दिर । बीचमा महाकाली नदी । कवानी र पूर्णागिरिको बीचमा महाकाली शान्त भएर बगिरहेछ ।
त्यही नदी शान्त भएर बग्ने छेउकै बगरमा र्याप्टिङ गाइड किसन भाटले र्याप्टिङ गर्नेलाई आचारसंहिता सुनाउँदै थिए । उनले र्याप्टिङ गर्दा अपनाउनुपर्ने सावधानी र गर्न नहुने कामबारे जानकारी दिए । सबैले लाइभ ज्याकेट, हेल्मेट पहिरिनुका साथै हातमा पैडल पनि समातेका थिए । ती सबैका बारेमा पनि गाइड भाटले जानकारी दिए ।
गाइडले सबै जानकारी दिएपछि आवश्यक तयारीसहित र्याप्टमा सबै महाकालीमा बग्न थाले । सबैले हातमा पैडलले पानी काट्दै अगाडि बढे । केहीबेर शान्त नदी नजिकै जलविहारपछि सबै पानीसँगै बग्न थाले ।
भीमदत्त नगरपालिका–९ खल्ला मुसेट्टीमा सोमबार यस्तै दृश्य देखियो । ५ वटा र्याप्टिङ बोटमा कम्तीमा ४० जनाले साहसिक जलयात्रा गरे । उक्त क्षेत्रमा सोमबारदेखि नै व्यावसायिक रूपमा र्याप्टिङ सुरु गरिएको हो । गैरसरकारी संस्था निड्स नेपालको पहलमा भीमदत्त नगरपालिका, नेपाल पर्यटन बोर्ड लगायतको सहकार्यमा नियमित रूपमा सञ्चालन हुने गरी जलयात्रा सुरु गरिएको हो ।
महाकाली सीमा नदी हो । सीमा नदीको पानीको बाँडफाँटदेखि अनेक मुद्दा थाती छन् । भीमदत्त नगरपालिका–९ को पारिपट्टि भारतीय व्यवसायीहरूले नियमित रूपमा र्याप्टिङ गर्दै आएका छन् । नेपालतर्फ पनि र्याप्टिङका लागि प्रयास नभएको होइन । २०७७ देखि नै संघसंस्था र स्थानीय तहले प्रयास गर्दै आएका थिए । विगतमा परीक्षणका रूपमा मात्रै हुने भए पनि यसपटकदेखि व्यावसायिक रूपमै सुरु गरिएको र्याप्टिङ गाइड भाटले बताए ।
‘अब बर्खा नलागेसम्म नियमित र्याप्टिङ गरिनेछ,’ उनले भने, ‘हामीले यही क्षेत्रमा तालिम लिनेदेखि अभ्यास लगायतका सबै काम गरेका छौं, निकै मिहिनेत गरेर यो क्षेत्रमा र्याप्टिङ सुरु गर्न सकिएको हो ।’ उनले स्थानीय स्तरमै युवाहरूले गाइडको तालिम लिएर महाकाली नदीमा व्यावसायिक रूपमै र्याप्टिङ सुरु गर्न सकिएको बताए । उनीसहित तीन जनाले र्याप्टिङ गाइडको तालिमसँगै विभिन्न क्षेत्रमा पुगेर अभ्याससमेत गरिसकेका छन् ।
सोमबार नेपाल पर्यटन बोर्डका सदस्य नरेन्द्रदेव भट्ट, भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बुलगायत जनप्रतिनिधि र स्थानीयको उपस्थितिमा र्याप्टिङको शुभारम्भ गरिएको हो । शुभारम्भमा एक दर्जन बढी र्याप्टिङ प्याकेज बिक्री भएको गाइड भाटले बताए ।
भीमदत्त नगरपालिका-९ मुसेट्टीदेखि खल्लासम्म करिब ३ किलोमिटरको दूरी छ । उक्त दूरीमा र्याप्टिङ गर्न १५ मिनेटदेखि आधा घण्टासम्म लाग्छ । र्याप्टिङदेखि सुनसान रूपमा नदी बग्नेसम्मका दृश्य यो क्षेत्रमा पर्छन् । यसकारण यहाँ र्याप्टिङ गर्न धेरै गाह्रो छैन ।
‘महाकाली सीमा नदी हो, यसमा हाम्रो उपस्थिति पनि आवश्यक छ, त्यसका लागि पनि र्याप्टिङ सुरु गर्नु उपयुक्त देखिन्छ,’ नेपाल पर्यटन बोर्डका सदस्य नरेन्द्रदेव भट्टले भने, ‘पर्यटन बोर्डले यहाँको र्याप्टिङको प्रवर्द्धका लागि विशेष योजना ल्याउनेछ, आगामी वर्ष नेपाल–भारत र्याप्टिङ प्रतियोगिता आयोजना गर्ने मैले सोच बनाएको छु ।’ उनले उक्त प्रतियोगितासँगै सेलिब्रिटीहरूलाई ल्याएर र्याप्टिङ गराएर पनि यसको प्रचारप्रसार गरिने बताए ।
‘यहाँ र्याप्टिङ पर्यटनको निकै राम्रो सम्भावना छ, त्यसका लागि नगरपालिकाले भौतिक पूर्वाधारको विकासमा काम गरिरहेको छ,’ भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीले भने, ‘सडक निर्माणका लागि पनि नगरपालिकाले काम गरिरहेको छ ।’ उनले नगरपालिकाको बजेटले मात्रै भौतिक पूर्वाधारका विकास सम्भव नभएकाले प्रदेश र संघीय सरकारको सहयोग पनि आवश्यक रहेको बताए ।
मुसेट्टीदेखि खल्ला र डडेलधुराको परशुराम नगरपालिकामा पर्ने परशुरामदेखि खल्लासम्म गरी छोटो र लामो दूरीका र्याप्टिङका लागि दुईवटा प्याकेज निर्माण गरिएको छ । पारि भारततर्फ नियमित रूपमा र्याप्टिङ सञ्चालनमा रहेकाले नेपालतर्फ पनि नियमित रूपमा राम्ररी सञ्चालन गर्न सके स्थानीय स्तरमा रोजगारीसँगै आय आर्जनमा सुधार हुने अपेक्षा गरिएको छ ।