— सिंहदरबार परिसरमा संसद् भवनको निर्माण सुरु भएको साढे ६ वर्ष पुग्दा पनि अझै काम सकिएको छैन । सहरी विकास मन्त्रालयले २०७९ को निर्वाचनबाट गठन हुने प्रतिनिधिसभा बैठक नयाँ संसद् भवनमा सञ्चालन गर्ने गरी ठेक्का लगाएको थियो । तर २०८२ को निर्वाचनपछि नयाँ संसद् आइसक्दा पनि भवन पूर्ण रूपमा तयार हुन सकेको छैन ।
दोस्रो पटक १९ असोज २०८० सम्म, तेस्रो पटक १९ चैत २०८०, चौथो पटक १८ चैत २०८१ र पाँचौं पटक १६ पुस २०८२ सम्म म्याद थपिएको थियो । त्यो अवधिमा पनि काम नसकिएपछि फेरि थोरै समयका लागि म्याद थप्ने तयारी हुँदै छ ।संसद् भवनको काम नसकिएपछि त्यही भवनअन्तर्गत रहेको बहुउद्देश्यीय हललाई नयाँ संसद्को पहिलो बैठकका लागि जसोतसो तयार पार्ने काम भइरहेको छ । संघीय संसद् सचिवालयले आगामी १२ चैतमा शपथ खुवाउने तयारी गरेको छ । संसद् भवनको काम नसकिने भएकाले बहुउद्देश्यीय हलमा शपथ खुवाउने गरी तयारी भइरहेको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहराले जानकारी दिए ।
‘पूरै भवनको काम त सकिँदैन, तत्कालका लागि शपथ खुवाउन र संसद् बैठक बस्न बहुउद्देश्यीय हल तयार हुन्छ,’ उनले भने । हलमा टेबल–कुर्सी, माइक जडान गरिसकिएको छ । सभामुख, संघीय संसद्का महासचिव बस्ने ठाउँ पनि तयार भइसकेको छ । महानिर्देशक बोहराका अनुसार हलमा टेलिभिजन मात्र जडान गर्न बाँकी रहेको र त्यो पनि बिहीबारसम्म सकिनेछ । संसद् भवन प्रवेशद्वार अगाडिको सडक कालोपत्रको काम शुक्रबारसम्म सकिने र भवन अगाडि रहेको ‘फाउन्टेन’ मा टायल लगाउने काम शनिबारसम्म सकिने उनको दाबी छ ।
‘बहुउद्देश्यीय हल अबको तीन दिनभित्र तयार हुन्छ,’ उनले भने, ‘भवन निर्माणको काम भने चलिरहन्छ, त्यसको काम पनि वैशाखभित्र सकिन्छ ।’ १६ असोज २०७९ भित्रै निर्माण सक्ने गरी १६ असोज २०७६ मा नयाँ संसद् भवनको ठेक्का लगाइएको थियो । ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँमा बनाइसक्ने गरी निर्माणको ठेक्का तँदी–सेक जेभीले लिएको हो । सुरुको म्यादभित्र काम नसकिएपछि पहिलो पटक ३० चैत २०७९ सम्म म्याद थपिएको थियो ।
दोस्रो पटक १९ असोज २०८० सम्म, तेस्रो पटक १९ चैत २०८०, चौथो पटक १८ चैत २०८१ र पाँचौं पटक १६ पुस २०८२ सम्म म्याद थपिएको थियो । त्यो अवधिमा पनि काम नसकिएपछि फेरि थोरै समयका लागि म्याद थप्ने तयारी हुँदै छ । सिंहदरबार परिसरको १ सय ५६ रोपनी क्षेत्रफलमा संसद् भवनको निर्माण थालिएको हो । नयाँ भवन पाँच तलासम्मका छन् । त्यहाँ प्रतिनिधिसभा, राष्ट्रिय सभा भवन, ‘सेन्ट्रल लबी’, अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवन, पुस्तकालय र संग्रहालय तयार गरिँदै छ ।
संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, संसद् सचिवालय भवन, चमेनागृह, प्रेस र छपाइ भवन छुट्टै बनाइएका छन् । ४ सय ७६ वटा चारपांग्रे र आठ सय वटा दुईपांग्रे सवारीसाधन पार्किङ गर्ने गरी पूर्वाधार तयार पारिँदै छ । सुरक्षाकर्मी बस्ने भवन पनि निर्माण गरिएको छ । ‘रुफिङ’ को छुट्टै ठेक्का चेनलिंक इन्जिनियरिङ कम्पनीले ३ करोड ७९ लाख रुपैयाँमा लिएको छ । २७ फागुन २०८० मा भएको ठेक्काअनुसार म्याद माघ मसान्तसम्म भए पनि काम सकिएको छैन ।
अर्कै उद्देश्यले बनाइएको हलमा अस्थायी रूपमा संसद् बैठक बस्ने तयारी भएको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाबाट राष्ट्रिय सभातर्फ जाने बाटोको एक तलामाथि बहुउद्देश्यीय सभाकक्ष छ । ‘इन्टेरियर’ को जिम्मा केसी–श्यामसुन्दर–बानियाँ जेभीले लिएको थियो । यसमा ठेक्का रकम २ अर्ब ३४ करोड ५४ लाख छ । यसको काम असार २०८१ भित्र सक्ने गरी १७ असार २०८० मा सम्झौता भएको थियो । पछि समय थप गरेर १६ चैत २०८१ सम्म पुर्याइए पनि काम नसकिएपछि पुनः १६ पुस २०८२ सम्म म्याद थपियो । तर काम नसकिएपछि म्याद थप्ने तयारी हुँदै छ । यसअघि संसद् बैठक बस्दै आएको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा २४ भदौमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए ।
त्यसपछि संसद् सचिवालयले केन्द्रसँगको सम्झौता नवीकरण गरेन । राष्ट्रिय सभा हलको कामलाई भने अहिले प्राथमिकतामा राखिएको छैन । अहिले राष्ट्रिय सभा सिंहदरबार परिसरकै कृषि समितिको पुरानो हलमा सञ्चालन गरिएको छ । दसैंलगत्तैबाट संसद् भवन निर्माणको काम छिटो सक्न दबाब दिँदै आए पनि त्योअनुसार काम हुन नसकेको संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले बताए । ‘१२ चैतमा सांसदलाई शपथ खुवाउने भनेर बोलाइसकिएको छैन, बोलाउने योजनामा छौं,’ उनले भने, ‘प्रतिनिधिसभा बैठक बस्न भवन तयार पारेर सहरी विकास मन्त्रालयबाट दिने कुरा थियो, त्यो भएन, अहिले जुन हल तयार पारिएको छ, त्यो अल्पकालीन प्रयोजनका लागि गरिएको हो ।’
अर्कै उद्देश्यले बनाइएको हलमा अस्थायी रूपमा संसद् बैठक बस्ने तयारी भएको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाबाट राष्ट्रिय सभातर्फ जाने बाटोको एक तलामाथि बहुउद्देश्यीय सभाकक्ष छ । सभामुखको कार्यकक्ष र कार्यव्यवस्था समितिको बैठक बस्ने कोठा पनि त्यहीं व्यवस्थापन गरिने गिरीले जानकारी दिए । अहिले निर्माण भइरहेका प्रतिनिधिसभा र राष्ट्रिय सभाको माथिल्लो तलामा १ सय ५० र ३ सय क्षमताका दुई वटा बहुउद्देश्यीय हल पनि बनिरहेका छन् ।
त्यहीमध्येको ३ सय क्षमताको हलमा प्रतिनिधिसभा सदस्यको शपथ र केही समयका लागि बैठक चलाउने गरी तयार पारिँदै छ । जहाँ २ सय ७५ जना सांसदलाई शपथ खुवाइने र बैठक चलाइने प्रवक्ता गिरीले बताए । ‘बाहिर कतै हल खोजेर शपथ खुवाउन, बैठक चलाउन समस्या थियो, सुरक्षाको कुरा, प्राविधिक पक्षको कुरा, खर्चको कुरा थियो,’ उनले भने, ‘अहिले काम चलाउका रूपमा मात्र हल तयार भएको हो, यसमा सीमित ठाउँ मात्र छ, जहाँ पत्रकार, दर्शकलाई ठाउँ अभाव हुने जोखिम छ ।’
अलि पछि बजेट अधिवेशन हुने र त्यसमा संयुक्त बैठक बस्दा सबै नअटिने उनको भनाइ छ । बजेट अधिवेशनसम्म नयाँ भवन तयार नभए समस्या हुने उनले सुनाए । ‘छिटो गर्न भनिरहेका छौं, हुन्न भन्नुभएको छैन,’ उनले भने, ‘त्यसैले आशा गरौं, त्यति बेलासम्म सकिन्छ ।’ सरकारी निकायबाट गर्नॅपर्ने निर्णयहरू समयमै नगरिदिँदा, कामदार अभाव, भुक्तानीमा ढिलाइले गर्दा समयमै काम गर्न नसकिएको निर्माण व्यवसायीहरू गुनासो गर्छन् ।