: दोस्रो आर्थिक गणनाका लागि जाजरकोट जिल्ला सदरमुकाम खलंगामा जिल्ला आर्थिक गणना कार्यालयको स्थापना गरिएको छ । ‘अर्थतन्त्र मापनको लागि आर्थिक गणना’ भन्ने नारासहित राष्ट्रिय तथ्यांक कार्यालयले देशैभर २०८२ चैत १ देखि २०८३ असार मसान्तसम्म रहने गरी देशभर ८४ वटा जिल्ला आर्थिक गणना कार्यालयको स्थापना गरिएको हो ।
गणनाको कार्यको लागि २०८३ वैसाख २ गतेदेखि असार ७ गतेसम्म स्लगत तथ्याङ्क संकलन गर्ने कार्यतालिका रहेको कार्यालयले जानकारी दिएको छ । पहिलो आर्थिक गणना यस अघि २०७५ सालको वैशाखमा भएको थियो । दोस्रो आर्थिक गणनाका लागि देशभर ५ हजार गणकहरु नियुक्त गरिँदैछ ।
गणनामा आर्थिक विवरणदेखि उद्योगहरुबाट भएको उत्पादनसम्मको विवरण, नेपालमा उद्योगको अवस्था, रोजगारी सिर्जनाको अवस्था संकलन गरिने कार्यालयले जनाएको छ । राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी सार्वजनिक संस्थाहरूको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण संकलन गर्ने योजना रहेको जिल्ला आर्थिक गणना अधिकारी शैलेन्द्र पुनले जानकारी दिए ।
मूल्यवृद्धि रोजगारीको स्थिति, अवसरदेखि जनशक्तिको आवश्यकता र भविष्यमा गर्ने तमाम कामका लागि आर्थिक गणनाले सूचना दिनेछ। यसको विश्लेषणबाट राज्यले आगामी दिनमा लिने नीतिहरु निर्माण गर्नका लागि सहज हुनेछ ।
कृषि तथा वन, खानी तथा उत्खनन, उत्पादन, निर्माण, थोक तथा खुद्रा व्यापर लगायतका विभिन्न १८ वटा क्षेत्रको आधारभुत विवरण संकलन गरिनेछ । कार्यालयकाअनुसार गणनाका लागि चैत मसान्त सम्म पूर्व तयारीका सम्पूर्ण काम सम्पन्न हुनेछन् । तथ्यांक संकलनका लागि वैशाख २ गतेदेखि असार ७ गतेसम्म तालिमप्राप्त गणक तथा सुपरीवेक्षक स्थलगत रूपमा खटिने छन् ।