: चालु आर्थिक वर्षको ९ महिनामा मधेश प्रदेश सरकारले मात्र ११ प्रतिशत बजेट खर्च गर्न सकेको छ । जसमा पुँजीगत खर्च निकै न्युन ६ प्रतिशत मात्रै छ भने चालु खर्च २० प्रतिशत छ । सरकार मातहतका कतिपय मन्त्रालयहरुमा त पुँजीगत खर्च भएकै छैन् तर, पनि प्रदेशका मुख्यमन्त्रीले आफ्नो सय दिने कार्यकाल उपलब्धीमूलक रहेको बताउँछन् ।
मंगलबार जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालयमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा यादवले आफ्नो सय दिने उपलब्धीहरु सार्वजनिक गरे । उनले सार्वजनिक गरेको तीन पृष्ठ लामो उपलब्धीहरुको सूचीमा ठोस काम कुनै नभए पनि मुख्यमन्त्री यादवले आफू प्रतिकूल अवस्थामा पदभार सम्हालेको हुँदा विस्तारै सुधार गर्दै जाने बताए ।
जनकपुर प्रादेशिक अस्पतालमा अनलाइन रिपोर्ट उपलब्ध गराउने सिस्टमको विस्तार गरिएको दाबी मुख्यमन्त्रीको उपलब्धीको सूचीमा छ भने आगामी असारमा रोपाइँका लागि आवश्यक पर्ने मल, खाद्य आपूर्तिको काम प्रदेश सरकारले किसानबाट माग हुनु अगावै व्यवस्थापन गरिसक्ने गरी सरकारले काम गरेको बताइएको छ ।
मलमा घटेको अनुदान प्रदेश सरकारले यसै वर्षदेखि लागु हुनेगरी पुनः पूर्ववत् व्यवस्था मिलाउन संघीय सरकार समक्ष प्रस्ताव गरेकोलाई समेत उपलब्धीमै सूचीकृत गरिएको छ । सरकारले मन्त्रालयगत उपलब्धीहरु पनि सार्वजनिक गरेको छ जसमा सबैभन्दा बढि उपलब्धी स्वास्थ्य क्षेत्रमा भएको उल्लेखित छ । तर, तथ्यांक हेर्दा मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालु आवको फागुन मसान्तसम्ममा पुँजीगत खर्च शून्य प्रतिशत मात्रै गर्न सकेको छ ।
भौतिक पूर्वाधार मन्त्रालयको कुल बजेटमध्ये पुँजीगत खर्च १० प्रतिशत भएको छ भने अन्य सबै मन्त्रालयहरुको पुँजीगत खर्चको अवस्था निकै दयनीय रहेको छ । देशनै निर्वाचनमा होमिएको कारण चाहेर पनि विभिन्न कामकाज गर्न नसकिएको र त्यसमा पनि मधेश प्रदेशमा अस्थिर सरकार भएको हुनाले खर्चको अवस्था कमजोर भएको हो, मुख्यमन्त्री यादव बताउँछन् ।
मधेश प्रदेशको कुल बजेट रु. ४६ अर्ब, ९८ करोड, ३३ लाख, ५१ हजार छ जसमध्ये चालु खर्च १६ अर्ब ४६५ करोड ५१७ लाख र पुँजीगत खर्च ३० अर्ब ५१७ करोड ८ लाख ३४ हजार छ । जसमध्ये हालसम्म जम्मा खर्च ५ अर्ब ३८ करोड ८७ लाख मात्रै खर्च भएको छ ।