सिमराः बाराको सिम्रौनगढ नगरपालिका-५ मा सोमबार राति दुईवटा भारतीय नम्बरको मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। सिम्रौनगढबाट कलैयातर्फ आउँदै गरेको बीआर०५एए ८४४४ र बीआर३०भी ४६३७ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना भएको हो।
दुर्घटनामा परी ४६३७ नम्बरको मोटरसाइकलमा सवार सिम्रौनगढ नगरपालिका ५ निवासी ४५ वर्षीय सुरेन्द्र महतोको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। महताको कलैयास्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनामा महतो सवार ८४४४ नम्बरको मोटरसाइकलका चालक सिम्रौनगढ ५ का ३५ वर्षीय दिलिपकुमार पटेल, ४६३७ नम्बरको मोटरसाइकल चालक रौतहटको राजपुर नगरपालिका-४ अकोलवाका २२ वर्षीय राजा साह र राजपुर ९ बैरीयाका १५ वर्षीय भरतकुमार साह घाइते भएका छन्। घाइतेको कलैयास्थित अस्पतालमा उपचार भइरहेको छ।