: राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मूल्याङ्कन सार्वजनिक गरेको छ । सार्वजनिक नतिजाअनुसार जिल्लामा रहेको पुथा उत्तरगंगा गाउँपालिका पहिलो स्थानमा उक्लिएको छ ।
आयोगले देशभरिका स्थानीय तहले अघिल्लो आर्थिक वर्षमा गरेका कार्यसम्पादनको आधारमा मूल्याङ्कन गरी नतिजा सार्वजनिक गरेको हो। सोही मूल्याङ्कनमा रुकुमपूर्वका तीन स्थानीय तहमध्ये पुथा उत्तरगंगा गाउँपालिकाले ६३.९७ अङ्क प्राप्त गर्दै अग्रस्थान हासिल गरेको छ ।
त्यसैगरी, भूमे गाउँपालिकाले ६३.६३ अङ्कसहित दोस्रो स्थान ओगट्दा जिल्ला सदरमुकाममा रहेको सिस्ने गाउँपालिकाले ६०.७७ अङ्क प्राप्त गर्दै तेस्रो स्थानमा सीमित भएको छ । आयोगले स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन गर्दा आर्थिक वर्षको राजस्व र आय–व्ययको अनुमान समयमै गाउँसभामा पेश भए/नभएको, बजेट समयमै पारित भए÷नभएको, प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमै पठाए–नपठाएको लगायतका विषयलाई आधार बनाएको छ ।
साथै शिक्षा, स्वास्थ्य, राजस्व संकलन, विद्यार्थी भर्ना दर, चालु तथा पुँजीगत खर्चसम्बन्धी सूचकसहित कुल १७ वटा सूचकमा मूल्याङ्कन हुने गरेको छ । पुथा उत्तरगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव बिकले कार्यसम्पादन सुधारका लागि संस्थागत प्रयास, समयमै योजना कार्यान्वयन तथा वित्तीय अनुशासनले राम्रो नतिजा हासिल गर्न सहयोग पुगेको बताएका छन् ।
गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीले समग्र टिमको समन्वय, पारदर्शिता र जनउत्तरदायित्वका कारण गाउँपालिका उत्कृष्ट बन्न सफल भएको उल्लेख गरेका छन् । उनले आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह र विकास निर्माणलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । यसैबीच, २०७९ सालको स्थानीय तह निर्वाचनमा उपाध्यक्षमा निर्वाचित भुपेन्द्रा बुढाको बाग्लुङको भुङ्कानीमा सवारी दुर्घटनामा परी निधन भएपछि रिक्त पदमा २०८१ साल मंसिर १६ गते सम्पन्न उपनिर्वाचनबाट नरपरा बुढा पुनः निर्वाचित भएका छन् ।