मुख्य समाचार
विद्युत् नियमन आयोगअन्तर्गतको पुनरावलोकन समितिले डेडिकेटेड तथा ट्रंक लाइन बापतको विद्युत् प्रयोग नगरेको भन्ने २ वटा उद्योगको दाबीलाई खारेज
विद्युत् नियमन आयोगअन्तर्गतको पुनरावलोकन समितिले डेडिकेटेड तथा ट्रंक लाइन बापतको विद्युत् प्रयोग नगरेको भन्ने २ वटा उद्योगको दाबीलाई खारेज

: विद्युत् नियमन आयोगअन्तर्गतको पुनरावलोकन समितिले डेडिकेटेड तथा ट्रंक लाइन बापतको विद्युत् प्रयोग नगरेको भन्ने २ वटा उद्योगको दाबीलाई खारेज गरेको छ।


लामो समयदेखि विवादित रहँदै आएको डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् महसुल विवादमा पञ्चकन्या ग्रुपअन्तर्गतका दुई उद्योगको मागदाबीलाई पुनरावलोकन समितिले अस्वीकार गरेको होे। आइतबार दिनभर चलेको बहसपछि समितिले पञ्चकन्या स्टिल र पञ्चकन्या प्लास्टिकको पुनरावलोकन निवेदनमाथि निर्णय गर्दै उनीहरूको दाबी नपुग्ने ठहर गरेको आयोगका अध्यक्ष डा.रामप्रसाद धितालले अन्नपूर्णलाई जानकारी दिए।


समितिको यो निर्णयसँगै नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगहरूबाट बक्यौता रकम उठाउने कानुनी बाटो खुलेको उनले जानकारी दिए। ‘समितिले अध्ययनका क्रममा विभिन्न तथ्य र प्रमाणहरूलाई आधार मानेको छ। आयोगले प्राविधिक टोली पठाएर उद्योगको स्थलगत अध्ययन गर्नुका साथै टीओडी डाटा र प्राविधिक तथ्यहरूको विश्लेषण गरेको थियो।



विश्लेषणका क्रममा पिक, अफ–पिक र नर्मल गरी तीनवटै समयमा विद्युत् प्रवाह भएको र खपत भएको पाइएको छ,’ अध्यक्ष धितालले भने। समितिले पूर्णलोड प्रोफाइल उपलब्ध नभए पनि उद्योगको स्टिल र प्लास्टिक उत्पादनको परिमाण, विद्युत् जाँदा निस्कने ‘स्क्रेप’ को मात्रा र उद्योगको लगबुक अध्ययन गर्दा लोडसेडिङको समयमा पनि विद्युत् प्रयोग भएको पुष्टि भएको छ।

समितिले लाल आयोगको प्रतिवेदन, सरकारका निर्णय र विभिन्न अदालतबाट भएका पुराना फैसलाहरूलाई समेत ध्यानमा राखेर यो निर्णय लिएको जनाएको छ। समितिले आइतबार संक्षिप्त आदेश जारी गरेको छ भने विस्तृत विवरण केही दिनमा सार्वजनिक गर्ने तयारी गरेको छ। अध्यक्ष धितालका अनुसार यो निर्णयसँगै प्राधिकरणले आफ्नो बक्यौता असुली प्रक्रिया अगाडि बढाउन सक्नेछ।

योसँगै उद्योगीहरूलाई कानुनी उपचारको ढोका पनि खुल्लै रहेको छ। यदि समितिको निर्णयमा चित्त नबुझेमा उद्योगीहरू उच्च अदालत जान सक्ने व्यवस्था छ। डेडिकेटेड र ट्रंकलाइनको बक्यौता बापतको पहिलो किस्ता बुझाएका पञ्चकन्या स्टिल र पञ्चकन्या प्लास्टिक प्रशासकीय अदालतमा गएका हुन्। विवाद समाधान निर्देशिका अनुसार विद्युत् नियमन आयोगमा अदालत खडा गरिएको थियो।

विवादित बक्यौतामा चित्त नबुझेका भन्दै उनीहरूले आयोगमा रहेको प्रशासकीय अदालतमा गए। तिर्नुपर्ने बक्यौता रकमको ५ प्रतिशत सेवा शुल्क बुझाएपछि अदालतमा मुद्दा दर्ता हुन्छ। उनीहरूले गत कात्तिक २३ गते निवेदन दर्ता गराएका थिए। यसबीचमा आयोगले बक्यौता र लाइन काट्नुपर्ने कारण खुलाएर जवाफ दिन प्राधिकरणलाइ निर्देशन दिएको थियो।

उद्योगको लाइन काटिएपछि गत कात्तिक १७ गते प्रधानमन्त्री सुशीला कार्कीलगायत उच्च सरकारी अधिकारी र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल सहितको उच्चस्तरीय छलफलमा डेडिकेटेड फिडर र टंकलाइनको शुल्कसम्बन्धी विवादको मध्यमार्गी प्रस्ताव आएको थियो। २८ किस्तामा बक्यौतालाई विभाजन गरी पहिलो किस्ता तिरेपछि लाइन जोडिने र चित्त नबुझेका उद्योगी प्रशासकीय पुनरावेदनमा जान सक्ने सहमति भएको हो।

२०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता भएका २५ उद्योगको यो अवधीको उठाउनुपर्ने कुल बक्यौता ५ अर्ब ४८ करोड रुपैयाँ हो। प्राधिकरणले बक्यौता रकम तिर्न २८ किस्ताको सुविधा दिएको छ। प्राधिकरणले लाल आयोगको प्रतिवेदनको सुझावअनुसार नै बक्यौता उठाएको हो। तत्कालीन सरकारले २०८० पुसमा पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा आयोग गठन गरेको थियो।
उक्त आयोगले २०८१ बैशाखमा सरकारलाई प्रतिवेदन बुझायो। उक्त प्रतिवेदनले अहिलेलाई कुल ५८ उद्योगबाट २०७२ माघदेखि २०७५ वैशाखसम्मको ६ अर्ब ११ करोड रुपैयाँ बक्यौता उठाउन निर्देशन दिएको छ।

यो विवाद कुल ५८ उद्योगको बक्यौताको हो। जसमा १३ उद्योगले लाइन काट्नु अघि नै किस्ताबन्दी तिर्न सुरु गरेका थिए। १० उद्योगले बक्यौताबापतको रकम चुक्ता गरिसकेका छन् भने २ सरकारी उद्योगले किस्तामा तिर्ने प्रतिबद्धता जनाएका छन्। डाबर नेपाल र सुदूरपश्चिम हवाई कार्यालयको धरौटी जफत गरी बक्यौता असुल गरिसकिएको छ। ६ उद्योग अन्तरिम आदेश लिएर बसेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। देशभरिका भूमि प्रशासन कार्यालयहरूले गत जेठ महिनामा पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ रुपैयाँ बराबर राजस्व संकलन गरेका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका १३८ भूमि प्रशासन कार्यालयले सेवाकरबाट २८ करोड ६६ लाख ३२ हजार ५६० रुपैयाँ संकलन गरेको छ । यस्तै, रजिष्ट्रेसन दस्तुरबाट दुई अर्ब ७८ करोड ५१ लाख ...
। चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा ४७ अर्ब ६१ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार जेठ मसान्तसम्म आएको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने कम हो । गत आवको जेठसम्म ६० अर्ब ६० करोड लगानी प्रतिबद्धता आएको थियो । चालु आवको साउनमा सबैभन्दा ...
। मध्यपूर्वमा जारी युद्धका कारण विगत केही महिनादेखि इन्धन सहित निर्माण सामग्रीमा भइरहेको अत्यधिक मूल्यवृद्धि पश्चात् निर्माण व्यवसायीले अहिलेसम्म पनि मूल्य समायोजन नपाएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । मूल्य समायोजनबाट बञ्चित हुँदा निर्माण उद्योग र व्यवसायीहरू इतिहासकै सबैभन्दा धराशायी स्थितिमा पुगेको महासंघका महासचिव शिवहरि घिमिरेद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । आ.व. २०८३/०८४ को बजेट ...
। अन्तर्राष्ट्रिय चेन होटल ब्रान्ड म्यारिअटले नेपालमा दुई ‘अल्ट्रा लक्जरी होटल’ सञ्चालन गर्ने गरी सीजी हस्पिटालिटी ग्लोबलसँग ऐतिहासिक सम्झौता गरेको छ । म्यारिअट इन्टरनेसनल बोर्डका अध्यक्ष डेभिड म्यारिअट र सीजी हस्पिटालिटी ग्लोबलका अध्यक्ष विनोद चौधरीको उपस्थितिमा नेपालमा दुई लक्जरी होटल र भारत सिलिगुडीमा एक होटल सञ्चालन गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ । म्यारिअट र सीजी दुवैै विश्वस्तरीय ...
। सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय यहाँको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको छ । सन्धिखर्कबाट झण्डै २० मिनेटको गाडीको यात्रा गरेपछि यस स्थानमा पुग्न सकिन्छ । प्रकृतिले आफैँ कुँदेर बनाएको जस्तो देखिने विशाल चट्टानहरूको संरचना, ढुङ्गाको बगैँचा जस्तै फैलिएको भू–आकृति, चिसो स्वच्छ हावा र क्षणक्षणमा बदलिने मौसमले यहाँ पुग्ने जो–कोहीलाई मोहित बनाउने ...