। नेपाल आयल निगमले धादिङस्थित श्रीराम ग्यास उद्योग प्रालिलाई हरिसिद्धि गोदाममा रहेका ६ हजार ३ सय ७७ थान ग्यास सिलिन्डर सर्तसहित बजार पठाउन अनुमति दिएको छ ।
सोमबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र निगमले गरेको संयुक्त अनुगमन क्रममा श्रीराम ग्यास उद्योगको ललितपुरस्थित हरिसिद्धि गोदाममा स्टक गरेर राखिएको अवस्थामा ६ हजार ३ सय ७७ थान सिलिन्डर फेला परेको थियो ।
निगमको एलपी ग्यास विभागले मंगलबार निर्णय गर्दै उक्त उद्योगलाई बिक्री वितरणको प्रबन्ध मिलाउन निर्देशन दिएको हो ।
निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार उद्योगको हरिसिद्धिस्थित गोदाममा रहेका १४.२ किलोका ती सिलिन्डर दुई फरक माध्यमबाट बिक्री गरिने छ ।
जसमध्ये ६ हजार थान सिलिन्डर निगमको प्रत्यक्ष रोहवरमा उद्योगका आफ्नै डिलर मार्फत बजार पठाइने छ भने बाँकी ३ सय ७७ थान सिलिन्डर निगमको टेकुस्थित कार्यालयबाटै बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ ।
ग्यास बिक्री वितरण गर्दा उपभोक्ता नठगिउन् भन्ने उद्देश्यले निगमले उद्योगलाई कडा निर्देशन समेत दिएको छ । निगमले हरेक सिलिन्डरको तौल र तोकिएको मूल्य अनिवार्य रूपमा जाँच गरेरमात्र बिक्री गर्न निर्देशन दिएको छ ।
त्यसैगरी, निगमले उक्त उद्योगलाई बजारमा नयाँ सिलिन्डर बिक्री वितरण गर्न पूर्णरूपमा रोक लगाएको छ । साथै, श्रीराम ग्यासका सिलिन्डर अन्य कुनै पनि ग्यास कम्पनीका सिलिन्डरसँग साटफेर (एक्स्चेन्ज) गर्नसमेत नपाइने पत्रमा उल्लेख छ ।
उद्योगले दैनिक बिक्री वितरणको सम्पूर्ण विवरण (रिपोर्ट) निगमलाई अनिवार्य उपलब्ध गराउनुपर्ने छ । यस प्रक्रियालाई पारदर्शी बनाउन र प्रभावकारी अनुगमनका लागि निगमले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई समेत जानकारी (बोधार्थ) दिएको छ ।