। हावाहुरीले झापाको व्यवसायिक केरा खेतीमा ठूलो क्षति पुर्याएको छ । झापा गाउँपालिकामा केरा खेती गर्दै आएका किसान चन्द्र बहादुर बस्नेतले हावाहुरीबाट ठूलो क्षति भएको बताएका हुन् ।
६ वर्षदेखि व्यवसायिक केरा खेती गर्दै आएका युवा किसान बस्नेतले गत असोज महिनामा बाढीको डुबानबाट पीडित भएका किसानहरुले आइतबारको हावाहुरीले पुनः क्षति व्यहोरेको बताए ।
उनले आफ्नो फार्मममा मात्रै १६ लाख रुपैयाँ बराबरको क्षति भएको बताए । उनका अनुसार मकैमा पनि क्षति पुगेको छ ।
२०८० सालमा नेपालका उत्कृष्ट किसानबाट पुरस्कृत बस्नेतले सरकारले किसानहरुको समस्या सम्बोधन गर्नुपर्ने बताए । उनले भने, ‘किसानहरुलाई पुनः उठ्न र अघि बढ्नका लागि राज्यले शतप्रतिशत क्षतिपूर्ति दिनुपर्छ ।’
उनका अनुसार राज्यले एक वर्ष केरा खेतीको बीमा गरिदिए पनि अर्को वर्षदेखि बीमा हटाइदिएको गुनासो गरे ।
‘राज्यले नै बीमा बन्द गरिदिएको थियो । पहिलो वर्ष बीमा गरिदिने अनि दोस्रो–तेस्रो वर्ष नगरिदिने भनेको किसानलाई फकाएर खेतमा ल्याउने अनि लड्यो भने त्यहीँ सकाइदिने जस्तो भयो,’ उनले भने, ‘राज्यको यो पोलिसी एकदम गलत छ ।’ उनले किसानको मर्म बुझ्ने मन्त्री र नीति निर्माताहरू हुनुपर्ने बताए ।