— सुर्खेतकी इनिसा विकमाथि भएको बलात्कार र हत्याको घटनाप्रति आफुहरुको पनि ध्यानाकर्षण भएको जनाउँदै ताप्लेजुङमा पनि विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
पाथीभरा बहुमुखी क्याम्पसका विद्यार्थीले सोमबार फुङलिङमा प्रदर्शन गर्दै खबरदारी गरेका हुन् । पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष शिला इजमले पीडितको न्यायका लागि खबरदारी गर्न संगठित भएर उठ्नुपर्ने आवश्यकता रहेको बताइन् ।
क्याम्पस सञ्चालक समितिका पदाधिकारी, स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी तथा सदस्य, विद्यार्थी संगठनका अगुवा तथा विद्यार्थीहरूले ‘खराब सोच भएका खबरदार, इनिशालाई न्याय दे’ लगायतका नारा लगाउँदै नगर परिक्रमा गरेका थिए ।
तोक्मेडाँडाबाट सुरु भएको प्रदर्शन वीरेन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभापछि फेरि विद्यार्थीहरु बजारका सबै भागमा प्रदर्शन गर्दै पुनः तोक्मेडाँडामा पुगेका थिए । तोक्मेडाँडाको कोणसभालाई स्ववियु सभापति तिलबहादुर जोगी, सचिव लक्ष्मण पौडेललगायतले सम्बोधन गरेका थिए ।
सुर्खेतको गुर्भाकोट नगरपालिका–६ घर भई वीरेन्द्रनगरस्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत १६ वर्षीया इनिसा विकको फागुन २३ मा वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा बेहोस अवस्था फेला परेकी थिइन् । आफन्तले उनलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ पुर्याए पनि अस्पतालले मृत घोषणा गरेको थियो।