आम नेपाली मतदाताले भर्खरै सम्पन्न निर्वाचनलाई उत्सवका रूपमा मनाए । सभाहरू भए, बहसहरू भए, नाराहरू पनि गुन्जिए । सञ्चारमाध्यमले उम्मेदवार र मतदातालाई पर्याप्त स्थान दिए । सामाजिक सञ्जालमा समर्थन र आलोचनाका लहर देखिए ।
सामाजिक सञ्जालमा मिथ्या सूचना टाउको दुखाइको विषय त बन्यो तर सामाजिक सञ्जालमा रचनात्मक सामग्रीको पनि कमी थिएन । मतदानपश्चात्को प्रतीक्षा छ– अब कसको एजेन्डा स्थापित होला ?
निर्वाचन परिणामले विकास गर्ने राजनीतक गठजोडबारे चासो धेरैमा होला तर आममतदाताको चासो छ– अब आफ्नो मत लगानीको प्रतिफल लिनेतर्फ हुनुपर्छ । त्यसैले मतदानले मात्रै लोकतन्त्रको भूमिका समाप्त हुँदैन । बरु, यहींबाट नागरिक उत्तरदायित्वको यात्रा सुरु हुन्छ । अब राजनीति गर्नेले मात्रै होइन, मतदान गर्नेले पनि फरक भूमिका निभाउनुपर्छ । झन्डै १९ अर्ब सरकारी खर्चमा सम्पन्न यस निर्वाचनको हिसाब पक्कै अबको दिनमा उचित प्रश्न र खबरदारीले नै गर्नेछ ।
मतदान केवल प्रतिनिधि छान्ने प्रक्रिया होइन, आफ्ना प्रतिनिधिलाई खबरदारी र सहयोग गर्ने अभियानको सुरुवात हो । मत लगानी गरेपश्चात् त्यस लगानीको राम्रो प्रतिफल लिन सबै पक्षको भूमिका हुन्छ । शासन गर्नेलाई जवाफदेही बनाइराख्ने जिम्मेवारी पाँच वर्षका लागि मतपेटिकामा बन्द हुँदैन, यो दायित्व मतदातालाई हस्तान्तरण गरिन्छ । लोकतन्त्रमा मतदाताको शक्ति चुनावी दिनमा मात्रै होइन, चुनावपछि झन् बढी प्रकट हुनुपर्छ ।
ads/6800x1100galaxy-s26-ultrapriva-0932026035119.jpg
लोकतन्त्रमाथिको विश्वास केवल संस्थागत संरचनाबाट निर्माण हुँदैन, नागरिकको व्यवहारबाट पनि निर्माण हुन्छ । आफूले समर्थन गरेको उम्मेदवार पराजित भए पनि प्रणालीप्रति विश्वास कायम राख्नु, विजयी पक्षले पनि विनम्रता र समावेशी भाव देखाउनुले लोकतान्त्रिक संस्कारलाई बलियो बनाउँछ । मतदान एक प्रक्रिया मात्रै होइन, मतदाताको लगानी हो । त्यसको प्रतिफलमा मतदाताको चासो हुनुपर्छ ।
परिणामपछि मतदाताको भूमिका
लोकतन्त्रमा मतदाताको भूमिका मतदान केन्द्रसम्म पुगेर समाप्त हुँदैन, खासमा त्यहाँबाट सुरु हुन्छ । मत केवल अधिकारको प्रयोग होइन, चेतनाको घोषणा पनि हो । त्यसैले परिणामपछि मतदाताले आफ्नो निर्णयप्रति पनि आत्ममूल्यांकन गर्नुपर्छ । जस्तो ः हामीले नीति हेरेर मत दियौं कि भावना र प्रभावमा परेर ?
सरकारलाई मात्रै प्रश्न गर्नु नागरिक जिम्मेवारी होइन, सार्वजनिक बहसमाथि बढावा दिनु अनि स्तर बढाउनु पनि हो । जब मतदाता निर्वाचनपश्चात् पनि सचेत, संयमित र निरन्तर संलग्न रहन्छन्, तब शासन प्रक्रिया पनि परिपक्व भएर विकसित हुन्छ । लोकतन्त्र अन्ततः संस्थाहरूले मात्रै होइन, नागरिकको निरन्तर चासो, स्मरण शक्ति र नैतिक दृढताले टिकाइराख्ने व्यवस्था हो । नत्र मतदाताको भूमिका चुनावमा एउटाको जित अनि अर्कोको हार गराउनै सीमित हुन्छ ।
ads/multiple-banner-1-d-1022026052847.jpg
ads/multiple-banner-2-d-1022026052940.jpg
ads/multiple-banner-3-d-1022026053028.jpg
तसर्थ, लोकतन्त्रको वास्तविक परीक्षा मतदानको दिन होइन, मतदानपछि नागरिक कति जागरुक हुन्छन् र निरन्तर सक्रिय रहन्छन् भन्नेमा हुन्छ । त्यसैले मतदाताले चुनावमा गरिएका वाचा केवल भाषणका लागि होइनन् भनेर बुझ्नु जरुरी छ । घोषणापत्र, सार्वजनिक प्रतिबद्धता, टेलिभिजन बहसका आश्वासनहरू सामाजिक करार हुन् । यदि नागरिकले ती प्रतिबद्धता स्मरण नगर्ने हो भने राजनीति नारामै सीमित हुन्छ । र, अर्को चुनावमा यो चक्र दोहोरिन्छ ।
विश्वका धेरै प्रजातान्त्रिक देशमा चुनावपछि नागरिक समूह, अनुसन्धान संस्था र मिडियाले ‘प्रतिबद्धता ट्र्याकिङ’ गर्छन् । नेपालमा यस चुनावपश्चात् यस्तो अभियान चलाउनु जरुरी छ । चुनावको मुखमा मूल्यांकनभन्दा पनि निर्वाचित भएपश्चात् अनुगमन आवश्यक छ । प्रतिनिधि निर्वाचित भएपछि उनीहरू नागरिकप्रति उत्तरदायी रहनुपर्छ ।
चुनावपछिको आवश्यकता : सचेत निगरानी
लोकतन्त्रमा सबैभन्दा ठूलो जोखिम हो– मतदानपछिको नागरिक मौनता । हुन त मतदान आफैंमा ठूलो योगदान हो– लोकतन्त्र बलियो बनाउन । तर, यसलाई एकदिने उत्सवमै सीमित गर्नु हुँदैन । यदि पाँच वर्ष नागरिक चुप बस्छन् र अन्तिम वर्षमा मात्रै असन्तोष व्यक्त गर्छन् भने त्यो प्रतिक्रियात्मक राजनीति हुन्छ, रचनात्मक राजनीति होइन । मतदानपश्चात् मतदाताले अर्को चुनावको तयारी मात्रै गर्नुर् हुँदैन । तर, मतदाताको भूमिका केवल मतदानमै सीमित भए त्यो लोकतन्त्र बलियो बनाउन पर्याप्त हुँदैन ।
ads/1440x233px-dew-aston-0432026041034.png
सचेत मतदाताका रूपमा मतदाताले गर्न सक्ने केही महत्त्वपूर्ण काम छन् । यदि मतदाताले निरन्तर प्रश्न गर्ने संस्कार विकास गरे राजनीति पनि थप गम्भीर, जिम्मेवार र उत्तरदायी बन्छ । निर्वाचनपछि पनि नागरिकहरूले निर्वाचित प्रतिनिधिको कामको अनुगमन गर्नुपर्छ, उनीहरूले गरेका प्रतिबद्धताहरू कति पूरा भए/भएनन् ? त्यसको गम्भीर मूल्यांकन
गर्नुपर्छ । र, आवश्यक परे रचनात्मक आलोचना तथा सुझाव पनि दिनुपर्छ । साथै, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट फैलिने गलत सूचनाको सत्यता जाँचेर मात्रै धारणा बनाउने बानी विकास गर्नुपर्छ । यदि मतदाताले निरन्तर प्रश्न गर्ने संस्कार विकास गरे भने राजनीति पनि थप गम्भीर, जिम्मेवार र उत्तरदायी बन्छ अनि लोकतन्त्र बलियो हुनेछ ।
लोकतन्त्रमा मतदातासँगै विभिन्न सरोकारवालाहरूको पनि सतर्क भूमिका हुनुपर्छ । नागरिक समाज संस्थाहरू, अनुसन्धान समूह, स्थानीय मञ्च र मिडियाले चुनावी बहसलाई निरन्तर नीति बहसमा रूपान्तरण गर्नुपर्छ । चुनावअघि मतदाताको जति सक्रियता थियो, चुनावपछि पनि त्यति नै सक्रियता आवश्यक छ । नत्र लोकतन्त्र केवल प्रतिस्पर्धामा सीमित हुनेछ, सुधारमा होइन ।
साथै, सरोकारवालाको भूमिका आलोचनामै सीमित हुनु हुँदैन, उनीहरूले तथ्यमा आधारित मूल्यांकन, सार्वजनिक प्रतिवेदन र नियमित संवादमार्फत निर्वाचित प्रतिनिधिलाई रचनात्मक दबाब दिनुपर्छ । घोषणापत्रका प्रतिबद्धताको अनुगमन, कार्यान्वयनको समीक्षा र सार्वजनिक सेवाको गुणस्तरबारे तथ्यसहित प्रश्न उठाउने संस्कार विकास भए राजनीतिक प्रतिस्पर्धा नीतिगत प्रतिस्पर्धामा रूपान्तरण हुन सक्छ । यसरी हेर्दा नागरिक समाज र मिडिया केवल दर्शक होइनन्, लोकतन्त्रका निरन्तर संरक्षक हुन् भनेर बुझ्न आवश्यक छ ।
ads/hardik-niskula-iui1440233-1332026032859.jpg
स्मरण रहोस्, सरकार जसको बने पनि हरेक सांसदले आफ्नो–आफ्नो वाचापत्र सार्वजनिक गरेका छन् । तपाईंको सांसद सत्ता पक्ष होस् वा प्रतिपक्षी, सांसदका रूपमा उसको भूमिकाको लेखाजोखा हुनैपर्छ । आफ्नो क्षेत्रको सांसदलाई प्रश्न, खबरदारी र धन्यवाद लिने पात्र बनाउन सबैले भूमिका खेल्नुपर्छ ।
उदाहरणका लागि– विश्वविद्यालय, अनुसन्धान संस्था र युवा समूहहरूले तथ्यमा आधारित ‘नागरिक प्रतिवेदन’ तयार पार्न थाले भने राजनीतिक प्रतिबद्धता कागजमा मात्रै सीमित हुँदैन । अनुगमनलाई दण्डका रूपमा होइन, लोकतान्त्रिक सहकार्यका रूपमा बुझ्ने संस्कार विकसित भयो भने परिणामपछि पनि लोकतन्त्र जीवित, सक्रिय र जवाफदेही रहन्छ । नत्र भने आवधिक निर्वाचनले मात्रै लोकतन्त्रलाई बलियो बनाउन सक्दैन । यो केवल सरकार गठन गर्ने माध्यममा सीमित हुन जान्छ ।
अबको बाटो
निर्वाचान परिणामपश्चात् सरकार कसले बनायो वा बनाउँछ भन्ने मात्रै प्रश्न होइन, लोकतन्त्र कसले जोगायो भन्ने पनि महत्त्वपूर्ण प्रश्न हो । लोकतन्त्र जोगाउन प्रतिनिधिको जति भूमिका हुन्छ, सचेत नागरिकको त्योभन्दा धेरै भूमिका हुन्छ । चुनावले प्रतिनिधि चयन गर्छ तर लोकतन्त्रलाई जीवन्त बनाइराख्ने काम नागरिक र सम्बन्धित सरोकारवालाको निरन्तर सहभागिताले गर्छ । यदि मतदाताले आफ्नो मतलाई सम्झौता जस्तै सम्झेर त्यसको लेखाजोखा माग्छन् अनि यदि नागरिक समाजले तथ्यमा आधारित निगरानी गर्न थाल्छ भने लोकतन्त्र आफैं बलियो हुन्छ ।
ads/laxmi-sunrise-6811-08220261134141-0432026041702.jpg
सरकार बन्नु एक प्रक्रिया हो, जसमा चुनिएर गएका सांसदको अंकगणितले भर पर्छ । तर, ती जनप्रतिनिधिलाई प्रश्न गरेर उत्तरदायित्व सुनिश्चित गर्नु आजको समयमा ठूलो लोकतान्त्रिक संस्कार हो । त्यसैले आगामी पाँच वर्ष सरकारको मात्रै परीक्षा होइन, हाम्रो नागरिक चेतनाको पनि परीक्षा हो । मतदान अन्तिम गन्तव्य होइन, यो उत्तरदायित्वको सुरुवात हो ।
मत परिणामका आधारमा दलहरूले सरकार बनाउँछन् । तर, आगामी पाँच वर्ष नागरिकको सहभागिताले लोकतन्त्र बनाउँछ । मतदान अन्तिम गन्तव्य होइन, उत्तरदायित्वको सुरुवात हो । परिवर्तन जनप्रतिनिधिको कार्यशैली मात्रै होइन, हाम्रो प्रश्नशैली पनि हो ।