— रिचार्लिसनले ९० औं मिनेटमा गरेको गोलमा टोटनहमले आइतबार इंग्लिस प्रिमियर लिगमा लिभरपुललाई १–१ को बराबरीमा रोकेको छ ।
यससँगै टोटनहमले आफ्नो लगातार ६ खेलको हारको क्रम रोकेको छ र रेलिगेसनबाट बच्ने सम्भावना पनि जीवन्त बनाएको छ ।
लिभरपुलले डोमिनिक सबोसलाईको गोलले अग्रता लिए पनि अन्त्यमा त्यसलाई गुमाएको थियो । यो नतिजाले लिभरपुल ४९ अंकमा पाँचौँ स्थानमा रह्यो र उसको अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना कमजोर बन्यो । टोटनहम भने ३० अंकमा १६ औं स्थानमा रह्यो ।
आइतबारको प्रमुख खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई ३–१ ले पराजित गरेको थियो । यो नतिजापछि युनाइटेड ५४ अंकमा तेस्रो तथा भिल्ला ५१ अंकमा चौथो स्थानमा रह्यो । अन्य खेलमा क्रिस्टल प्यालेस र लिड्स युनाइटेड तथा नटिंघम फरेस्ट र फुलहमले समान गोलरहित बराबरी खेले ।