: रौतहटको गढिमाई नगरपालिका–८, बिनगरा टोलमा टिपरको ठक्करबाट ५ वटा विद्युतीय पोल भाँचिएका छन्। आइतबार साँझ भएको उक्त दुर्घटनाका कारण सो क्षेत्रको विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।
प्रहरीका अनुसार दक्षिण दिशाबाट आउँदै गरेको मधेस प्रदेश ०३–००१ क २७६८ नम्बरको टिपर अनियन्त्रित भई सडक किनारमा रहेका पोलहरूमा ठोक्किएको थियो। टिपरको ठक्करबाट लस्करै रहेका ५ वटा पोलमा क्षति पुगेको छ।
स्थानीय बासिन्दा अविनाश यादवका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति नभए पनि विद्युत् अवरुद्ध हुँदा स्थानीयको जनजीवन प्रभावित भएको छ। सो क्षेत्रमा सञ्चालित क्रसर उद्योगका लागि नदीजन्य पदार्थ बोक्ने उक्त टिपरले क्षमताभन्दा बढी भार (ओभरलोड) बोकेका कारण नियन्त्रण गुमाएर दुर्घटना भएको यादवले बताए ।
दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय गरुडाले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र अवरुद्ध विद्युत् सेवा सुचारु गर्न आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ।