: राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलक राम अधिकारीविरुद्ध घुस/रिसवत लिएको तथा सम्पत्ति शुद्धीकरण गरेको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन महानिर्देशक अधिकारीसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारले कुटी रिसोर्ट प्रालिका म्यानेजिङ डाइरेक्टर एवं सेयरधनी देवेन्द्र केसी र बाँके नेपालगञ्जका रविन्द्र लामिछानेलाई प्रतिवादी बनाएको छ। आयोगले अधिकारीबाट ७० लाख,देवेन्द्र केसीबाट २० लाख र रविन्द्र लामिछानेबाट ५० लाख विगो माग गरी आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध घुस रिसवत बुझी लिइ सम्पत्ति शुद्धीकरण गरेको भन्ने व्यहोराको उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान हुँदा अधिकारीले एच के इन्टरप्राइजेज प्रालिको राजश्व अनुसन्धान विभागमा रहेको राजस्व चुहावट सम्बन्धी छानबिन तथा राजश्व चुहावट सम्बन्धी अन्य कसूरबाट बच्नका लागि सहजीकरण वापत उक्त एच के इन्टरप्राइजेज प्रालिका सञ्चालक श्रीकृष्ण श्रेष्ठ बिज्यूबाट ७० लाख रुपैयाँ घुस लिएको पाइएको अख्तियारको ठहर छ।
अधिकारीले उक्त रकम विकास चापागाई,देवेन्द्र केसी र रविन्द्र लामिछाने लगायतसँगको सल्लाह तथा मिलेमतोमा उनीहरूको खाता रहेको विभिन्न बैंक र वित्तीय संस्थामा दाखिला गर्न लगाइ घुस रिसवतको रकमको स्वरुप नै परिवर्तन गर्न लगाइ जग्गा खरिद र द कुटी रिसोर्टको कर्जा भुक्तानी समेतमा प्रयोग गरेको तथ्य पुष्टि भएको अख्तियारको दावी छ।
'राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलक राम अधिकारीले अन्य प्रतिवादीहरूसँगको मिलेमतोमा एच.के.इन्टप्राइजेज प्रा.लि. का सञ्चालक श्रीकृष्ण श्रेष्ठ बिज्यूबाट कुल ७०,००,०००/- (अक्षरेपी सत्तरी लाख रूपैयाँ ) घुस रिसवत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) बमोजिमको कसुर गरेको र घुस/रिसवतको सम्बद्ध कसुर (Predicate Offence) बाट प्राप्त सम्पत्ति विभिन्न व्यक्ति एवं विधि प्रयोग गरी गराई २०,००,०००/- (अक्षरेपी बीस लाख) प्रतिवादी देवेन्द्र के.सी.म्यानेजिङ डाइरेक्टर एवं शेयरधनी रहेको द कुटि रिसोर्ट प्रा.लि.मा र रू.५०,००,०००/- (अक्षरेपी पचास लाख रूपैयाँ) प्रतिवादी रविन्द्र लामिछानेको नाममा खरिद गरे गराएको जग्गामा लगानी गरी गराई प्रतिवादीहरू झलक राम अधिकारी, देवेन्द्र के.सी, रविन्द्र केसी समेतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) ऐन, २०६४ को दफा ३ को उपदफा (१) को (क), (ख) र (ग) बमोजिम तथा दफा ३ को उपदफा (३) ले परिभाषित कसुर गरेको पुष्टि भएको हुँदा निज प्रतिवादीहरूलाई देहाय बमोजिमको कसुर तथा सजाय गरी बिगो असूल उपरसमेतको थप मागदाबी समेत लिइएको छ,अख्तियारको आरोप- पत्रमा उल्लेख छ।