: रास्वपाले समानुपातिक सांसदको नाम सार्वजनिक नगर्ने भएको छ। आज बसेको सचिवालय बैठकले पठाएको नाम निर्वाचन आयोगले स्वीकृत गरेपछि मात्र सार्वजनिक हुने प्रवक्ता मनिष झाले जानकारी दिए।
झाले आज नै निर्वाचन आयोगमा ५७ जनाको नामावली बुझाउने निर्णय भएको बताए। केन्द्रीय सचिवालयको बैठकले ५७ जनामध्ये ४८ जना महिला र ९ जना पुरुषको नाम पठाइएको उनले बताए। झाका अनुसार समानुपातिकमा खस आर्य १७ जना, जनजाति १६ जना, दलित ८ जना, मुस्लिम ३ जना, मधेशी ९ जना, थारु ४ जना पठाइएको छ।
आयोगले प्रमाणित नगरेसम्म रास्वपाको तर्फबाट सार्वजनिक नहुने बताए। उनले त्यतिबेलासम्म कुर्न आग्रह गरे।
उनले भने, ‘जब निर्वाचन आयोगमा रुजु गर्नुहुन्छ र सो नाम सार्वजनिक गर्नुहुनेछ। राजनीतिक र कानुनी रुपमा रुजु नगरेसम्म रास्वपाको प्रस्तावित हुने भएकाले आयोगबाट प्रमाणित नहुन्जेल कुर्न अनुरोध गर्दछौं।’
एमालेले भने शनिबार नै समानुपातिकतर्फ पठाउने नाम सार्वजनिक गरिसकेको छ। झाका अनुसार संसदीय दलको नेता चयनका लागि विधान परिवर्तन गर्न छलफल चलिरहेको बताए।