: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठन हुन अझै १० दिन जति समय लाग्न सक्ने बताएको छ । रास्वपा प्रवक्ता मनिष झाले पार्टीले आज निर्वाचन आयोगलाई समानुपातिक सांसदको सूची बुझाउने तयारी रहेको समेत जानकारी दिएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा पत्रकारहरुसँग छलफल गर्दै प्रवक्ता झाले समानुपातिक सांसद र अन्य विविध विषय टुङ्गो लगाउन पार्टीको वैठक बस्न लागेको बताए । पार्टीको सचिवालय वैठकअघि उनले समानुपातिक सांसदहरु टुंग्याएर निर्वाचन आयोगले प्रमाणपत्र दिइसकेपछि अन्य विषयहरुमा औपचारिक छलफल हुने बताए । उनले भने, ‘अहिलेको मुख्य प्राथमिकता समानुपातिक सांसद टुङ्गो लगाउने हो, यसैमा विशेष छलफल हुन्छ ।’
रास्वपा ले आगामी सरकारमा बन्ने मन्त्रीहरुको बारेमा औपचारिक छलफल नभएको प्रष्ट पारेको छ । प्रवक्ता झाले भने, ‘अनौपचारिक कुराकानीहरु भएका हुन सक्छन्, तर पार्टीको तहमा भावी मन्त्रीपरिषदलाई लिएर कुनै पनि औपचारिक छलफल भएको छैन । सबै प्रक्रिया सकेर नयाँ सरकार बनाउन अन्दाजी १० दिन जति लाग्न सक्छ ।’
प्रवक्ता झाले सञ्चारमाध्यममा आगामी मन्त्री भनेर आइरहेका नामहरुमा कुनै सत्यता नभएको बताएका छन् । उनले भने, ‘रास्वपाको दोहोरिने सांसदमध्ये पर्दैगर्दा राजनीतिक रुपमा केही अपेक्षा स्वभाविक होला, तर मैले कुनै किसिमको मन्त्रालयगत दावी राख्नु राजनीतिकरुपमा र व्यवहारिकरुपमा उचित हुने सोचेको छैन । अहिले मेरो कामना भनेको नेताहरुको स्वास्थ्य लाभ चाँडै होस् भन्ने हो । प्रक्रियाका कुराहरु चाँडै टुंग्याउन सकौं । आधारभूत प्रक्रिया चाँडै टुंग्याएर अघि बढोस् भन्ने हो । पाउने मन्त्रालय र जिम्मेवारीहरु त्यसपछिका कुराहरु हुन् ।’ झाले चुनावी अभियानका क्रममा आफूलाई भावी सञ्चारमन्त्रीका रुपमा प्रस्तुत गरेका थिए ।