मुख्य समाचार
प्रधानमन्त्री सुशीला कार्कीले छोटो अवधिमा निकै कठिनाइ भोगेर निर्वाचन सम्पन्न गराएको बताए
प्रधानमन्त्री सुशीला कार्कीले छोटो अवधिमा निकै कठिनाइ भोगेर निर्वाचन सम्पन्न गराएको बताए

— प्रधानमन्त्री सुशीला कार्कीले छोटो अवधिमा निकै कठिनाइ भोगेर निर्वाचन सम्पन्न गराएको बताएकी छन् । राष्ट्रिय समाचार समितिकी समाचारदाता कालिका खड्कालाई दिएको अन्तर्वार्तामा उनले 'तपाईं प्रधानमन्त्री भए पनि राजनीतिक दलको मन्त्री राखेर सरकार चलाउनु' भनेर राजनीतिक दलबाट दबाबसमेत आएको खुलाइन् ।

'एकदुई जनाले त यसलाई असफल बनाएर आफैं प्रधानमन्त्री बन्छु पनि भने । जेनजीका २१/२२ वटा समूह निस्किए । एउटाले एउटा भन्छ, अर्काले अर्को । पार्टीको भ्रातृ संगठनजस्तो भयो जेनजी त,' उनले भनिन्, 'कोहीले कार्यकारी प्रधानमन्त्री, कोहीले निर्वाचित प्रधानमन्त्री र केहीले संविधान संशोधन गर्न भने । संविधानले गर्न नमिल्ने कुरा पनि भनिरहेका हुन्थे । जेनजीहरुले भनेको कुरालाई नसुनेझैं गर्न पनि भएन । राजनीतिक दल भन्छन्– यो सरकारले निर्वाचन मात्रै गराउने हो । जेनजी भन्छन्– सबै काम गर, यो त विद्रोहबाट आएको सरकार हो । हामी त तावामा फुलौरा उफ्रिएजस्तो भयौं ।'

एउटा अनिश्चयकाबीच शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गराएकामा निकै खुसी लागेको प्रधानमन्त्री कार्कीको भनाइ छ । 'सरकारलाई जुन जिम्मेवारी तोकेर दिइएको थियो । त्यो हामीले समयमै पूरा गर्न सक्यौं । आनन्दजस्तो महसुस भएको छ,' उनले भनिन् ।

६ महिनाबीच धेरैले अविश्वास गरेको भन्दै उनले आफूहरुविरुद्ध सिंगै पुराना दल उभिएको सुनाइन् । 'जेनजी हुँ भन्नेहरुले तुरुन्तै छोड पनि भने । जेनजीको आन्दोलनलाई अपहरण गरेर आयौ भने । त्यसबेला हामीलाई सहयोग गर्ने मान्छे एकदम कम थिए,' उनले भनिन्, 'विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग भेट्दा पनि ‘सम्भव छ र ?’ भन्ने जस्ता प्रश्न आउँथे । हामी सीमित मान्छे सरकारमा थियौं । त्यो बीचमा धेरै हमला भयो । हामीप्रति मानिसको विश्वास पनि थिएन । त्यसमाथि एउटा महिला भन्ने खालका टिप्पणी सुनिँदै थिए । तर मैले एक कानबाट सुनेँ, अर्को कानबाट उडाइदिएँ । आफ्नो काम छोडिनँ ।'

जेन-जी सहिदका बुबाआमा बालुवाटार आएर रोएको दिन आफूलाई हृदयाघात नै होलाजस्तो भएको उनले बताइन् ।

राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत राखेर निकम्मा बनाइएको भन्दै उनले अहिले त्यसलाई गृह मन्त्रालय मातहत राखेर क्रियाशील गराइएको बताइन् । 'यो निर्वाचन सम्पन्न गर्न र धेरै ठूला दुर्घटना टार्न अनुसन्धान विभागको सूचनाले महवपूर्ण काम गरेको छ,' उनले भनिन् ।

अहिलेको निर्वाचन परिणामलाई जेन-जी आन्दोलनको असर र परिर्वतनको चाहना रहेको उनको बुझाइ छ । 'दलले पनि आत्तिनुपर्दैन । नयाँले मात्तिनु पर्दैन । हामीले पनि नसोचेको भयो । मैले त ओली जी हार्नुहोला भन्ने सोचेको पनि थिइनँ,' उनले भनिन्, 'रास्वपाले पाएको मतको सम्मान गर्नुपर्छ । विपक्षीले थोरै मत पाएको भए पनि रास्वपाले त्यसलाई सम्मान गर्नुपर्छ । पुराना पार्टीलाई रास्वपाले सम्मान गर्नुपर्छ । सत्तापक्षले गलत गरेमा प्रतिपक्षले विरोध गर्नुपर्छ ।'

भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनबारे उनले आज बस्ने मन्त्रिपरिषद्को बैठकले निर्णय लिने बताइन् । 'अब हामीसँग धेरै समय पनि छैन । नयाँ जनादेश आइसकेको छ । नयाँ सरकारले पनि बाँकी प्रक्रिया अवश्य अघि बढाउनेछ ।'

नयाँ सरकारले सबैभन्दा पहिला जेनजीले राखेका तीन वटा माग पूरा गर्नुपपर्ने उनले सुझाइन् । 'सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र रोजगारीको व्यवस्था । सबैभन्दा ठूलो समस्या रोजगारीको अभाव छ । भएका अवसरमा पनि नातावाद छ । यस्तो अवस्था हटाउँदै आर्थिक स्थितिमा सुधार गर्नुपर्छ,' उनले भनिन्, 'खुलेआम भ्रष्टाचार रोख्नुपर्छ । सबैभन्दा ठूलो सुधार सिंहदरबारभित्र गर्नुपर्ने मैले देखेको छु । त्यहाँ काम गर्ने कर्मचारीहरु राजनीतिकरण हुने गरेको देखियो । हरेक कामलाई सचिवहरू फनफनी घुमाइरहँदा रहेछन् ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलक राम अधिकारीविरुद्ध घुस/रिसवत लिएको तथा सम्पत्ति शुद्धीकरण गरेको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन महानिर्देशक अधिकारीसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले कुटी रिसोर्ट प्रालिका म्यानेजिङ डाइरेक्टर एवं सेयरधनी देवेन्द्र केसी र बाँके नेपालगञ्जका रविन्द्र लामिछानेलाई प्रतिवादी बनाएको छ। आयोगले अधिकारीबाट ७० लाख,देवेन्द्र केसीबाट ...
सरकारले राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि ओम प्रकाश अर्याललाई मनोनीत गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस
: प्रधानमन्त्री सुशीला कार्की र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल पनि सहभागी थिए। बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए। फागुन २१ गतेको निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गरेको भन्दै कांग्रेस सभापति थापाले प्रधानमन्त्रीलाई धन्यवाद दिएका थिए।
: उदयपुरमा आइतबार बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बेलका नगरपालिका-२ गिदेरीका १८ वर्षीय सोकिन्दर चन्द्रवंशी रहेका छन्। गिदेरी खोलास्थित सडकमा प्रदेश १-०४-००१ त १३३२ नम्बरको ट्याक्टर आइतबार बिहान दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सबिता भण्डारीको निर्णयविरुद्धको रिटमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शार‌ङ्गा सुवेदी, सुनिलकुमार पोखरेलको इजलासमा रिट निवेदक र सरकारी वकिलले बहस गरेका छन् । महान्यायाधीवक्ता भण्डारी आफैं बहस गर्न आएकी थिइन् । तर, समय नपुगेपछि ...