— चौतर्फी दबाबकाबीच कांग्रेस सभापति गगनकुमार थापाले राजीनामा दिने तयारी गरेका छन् । राजीनामा नदिएर पार्टीलाई सम्हालेर अघि बढाउन पार्टी केन्द्रीय कार्यसमितिभित्र र बाहिरबाट व्यापक दबाब परिरहे पनि उनले प्रतिक्रिया दिएका छैनन् ।
ती सबै दबाबका बीचमा पनि उनले केन्द्रीय कार्यसमितिको बैठक अगाडि नै राजीनामा दिने मुढ बनाइरहेको थापा निकट एक केन्द्रीय सदस्यले बताए ।
उनले २५ फागुनमा पार्टीका उपसभापति विश्वप्रकाश शर्मालाई भेटेर पनि राजीनामा दिने जानकारी गराएका थिए । शर्माले निर्वाचनमा पराजयको समग्र र सुष्म समीक्षा गरेर स्थिति सम्हालेर अघि बढ्नुपर्ने भन्दै थापालाई रोक्ने प्रयास गरेका थिए ।
त्यसपछि पार्टी केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसमिति बाहिर रहेका नेता तथा शुभेच्छुकहरुले थापालाई राजीनामा नदिएर पार्टीलाई थप सशक्त र सुदृढ बनाउन दबाब दिँदै आएका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले पाएको मतको जिम्मेवारी लिँदै थापा राजीनामा दिने मनस्थितिमा पुगेको स्राेतको भनाइ छ । ‘सम्भवत समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूको सूची तयार पारेपछि निर्णय लिन सक्नुहुन्छ,’ उनी निकट नेताले भने ।
निर्वाचन पछाडि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बसेको छ ।
पार्टी प्रवक्ता देवराज चालिसेले सभापतिले राजीनामा दिने वा नदिने बिषय उहाँको स्वच्छिक विषय रहेको र राजीनामा आएमा स्वीकृत गर्ने कि नगर्ने भन्ने विषय केन्द्रीय कार्यसमितिको अधिकारको विषय भएको बताए ।
चैतको पहिलो साताभित्रै केन्द्रीय कार्यसमितिको बैठक बोलाउने तयारी भएको छ । थापाले राजीनामा दिने मनस्थितिबाट पछि नहटेकाले शनिबार पनि सहमहामन्त्री प्रकाश स्नेही रसाईलीसहित करिब ३ दर्जन केन्द्रीय कार्यसमितिका सदस्यहरुले भेटेरै राजीनामा नदिन दबाब दिएका थिए ।
‘पार्टीमाथि धेरै ठुलो चुनौती आइपरेको छ । यतिबेला हामी सम्हालिएर पार्टीलाई थप सुदृढीकरणका लागि अघि बढाउनुपर्छ । अब १५औं महाधिवेशनको तयारीमा लाग्नुपर्छ, राजीनामा नदिनुहोस् भनेर भन्यौं,’ उनले भने, ‘तर, सभापतिले यसबारेमा खासै प्रतिक्रिया जनाउनु भएन ।’