— भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा अन्तर्घात गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनकुटाले साँगुरीगढी गाउँपालिकाकी उपाध्यक्ष तथा एमाले जिल्ला कमिटी सदस्य मुना राईलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ।
एमालेले मुना राईमाथि गरेको उक्त कारबाहीपछि सामाजिक सञ्जालमा एमाले साँगुरीगढी गाउँपालिका कमिटीका नाममा गत निर्वाचनमा काटिएको नगदी रसिद चर्चाको विषय बनेको छ।
सामाजिक सञ्जालमा उक्त नगदी रसिदका बारेमा विभिन्न चर्चा–परिचर्चा भइरहेका छन्। एमाले जिल्ला कमिटीको बुधबार बसेको विस्तारित बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनमा अन्तर्घात गरेको आरोप लगाउँदै राईलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको थियो। एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कट्टेलले राईलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएका छन्। यद्यपि कट्टेलले राईमाथिको कारबाहीको लिखितपत्र वा दस्तावेज भने उपलब्ध गराएनन् ।
सामाजिक सञ्जालमा चर्चाको विषय बनेको नगदी रसिद भने राईले २०७९ वैशाखमा पार्टीलाई बुझाएको रकमसँग सम्बन्धित रहेको बताए। मुना राई २०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा धनकुटाको साँगुरीगढी गाउँपालिकामा एमालेका तर्फबाट उपाध्यक्ष पदकी उम्मेदवार थिइन्। २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो।
त्यसको केही दिनअघि अर्थात् २०७९ वैशाख ११ गते १ लाख ५० हजार रुपैयाँ र सोही महिनाको २६ गते १० लाख रुपैयाँ गरी कुल ११ लाख ५० हजार रुपैयाँ एमाले साँगुरीगढी गाउँपालिका कमिटी धनकुटाका नाममा रसिद काटेर बुझाइएको देखिन्छ।
पार्टीभित्र अन्तर्घात गरेको आरोप लगाउँदै एमाले धनकुटाको बुधबार बसेको विस्तारित बैठकले राईलाई कारबाही गरेपछि उक्त नगदी रसिद राईका परिवारले बाहिर ल्याएको कान्तिपुरसँगको कुराकानीमा उनैले स्वीकारेकी छन् ।
एमाले धनकुटाका अध्यक्ष शिव आङ्ला लिम्बुले भने राईले पार्टीलाई बुझाएको भनिएको रकम पार्टीले खर्च नगरी स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकी स्वयं उनैले खर्च गरेको दाबी गरेका छन्।
उनका अनुसार अध्यक्ष पदका उम्मेदवारले १५ लाख र उपाध्यक्ष पदका उम्मेदवारले १० लाख रुपैयाँ गरी कुल २५ लाख रुपैयाँको कोष बनाएर निर्वाचन परिचालन खर्च सोही कोषबाट गर्ने योजना बनाइएको थियो।
अध्यक्ष आङ्लाले भने, 'त्यो पैसा पार्टीको कोषमा जम्मा भएको छैन। उनीहरूले नै स्थानीय तहमा भोट माग्दा गाडी–घोडा चढ्दा, खाना खर्च र अन्य परिचालनमा खर्च गरेको हुनुपर्छ। कताकता खर्च गरे त्यो उनीहरूले नै जान्ने विषय हो।' उनले उक्त रकम पार्टीको कोषमा जम्मा नभएको स्पष्ट पारे।
उता कारबाहीमा परेकी मुना राईले भने आफूले बुझाएको रकम पार्टीको कोषमा नै जम्मा भएको दाबी गरेकी छन्। उनले आफूले गरेको व्यक्तिगत खर्चको विवरण भने छुट्टै रहेको बताइन्।
राईले आफूलाई पार्टीले कारबाही गरेको विषयमा कुनै लिखित वा मौखिक जानकारी नआएको पनि बताइन्। 'मैले कुनै चिठी वा मौखिक जानकारी पाएकी छैन। समाचारको माध्यमबाट मात्रै आफूमाथि कारबाही भएको सुनेकी हुँ,' उनले भनिन्।
पार्टीलाई रकम बुझाएको रसिद सार्वजनिक भएको विषयमा उनले पार्टीको कारबाहीपछि प्रतिक्रियास्वरूप सार्वजनिक भएको बताइन्। एमालेबाट निर्वाचित भएर उपाध्यक्ष पदबाट लिएको सेवा–सुविधा त्याग्नुपर्छ भन्ने खालका टिप्पणी सामाजिक सञ्जालमा आएपछि उक्त रसिद आफ्नो परिवारले सार्वजनिक गरेको उनले सुनाइन्।
'मैले सार्वजनिक गरेको पनि होइन, मलाई कारबाही भएको बारे पनि थाहा छैन। तर रकम पार्टीलाई बुझाएको हो। मैले गरेको व्यक्तिगत खर्चको विवरण त्यो होइन,' राईले भनिन्। उनले पार्टीले आफूलाई कारबाही गरेको विषयमा कुनै टीका-टिप्पणी नगरेको र नगर्ने जनाइन्। उनले भनिन्, 'सार्वजनिक गर्नुपर्ने कुरा अरू पनि छन्, त्यो ठूलो रकमको मात्रै कुरा हो। सानोतिनो रकमको हिसाब छ तर सार्वजनिक गरिएको छैन।'