— अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयमा सबैभन्दा बढी स्थानीय तहसँग सम्बन्धित उजुरी परेका छन् । चालु आर्थिक वर्षको माघसम्म काार्यलयमा ९ सय ७६ थान उजुरी परेका छन् । तीमध्ये ६ सय ३३ थान स्थानीय तहसँग सम्बन्धित उजुरी छन् ।
१२ जिल्ला कार्यक्षेत्र रहेको हेटौंडा कार्यालयमा चालु आर्थिक वर्षको माघसम्म दर्ता भएका ९७६ उजुरी र गत वर्षका बाँकी ८१८ गरी १ हजार ७ सय ९४ थान उजुरी रहेका थिए । तीमध्ये ७३८ थान उजुरी फर्स्यौट गरिएको आयोगको हेटौंडा कार्यालय प्रमुख रामकृष्ण पुडासैनीले बताए ।
चालु आर्थिक वर्षका सात महिनामा सबैभन्दा बढी पर्सा जिल्लाका २८७ वटा उजुरी परेका छन् । बाराका २५०, रौतहटका १८६, मकवानपुरका १३९, चितवनका १११ र दोलखाका २ वटा उजुरी परेको पुडासैनीले बताए ।
यस अवधिमा सिन्धुपाल्चोक, धादिङ, रसुवा र नुवाकोट जिल्लाको उजुरी शून्य रहेको छ । गत वर्ष हेटौंडामा दर्ता भएका उजुरीमध्ये संघीय मामिला मन्त्रालय (स्थानीय तह) सँग सम्बन्धित ५३ दशमलब ११ प्रतिशत थिए। चालु आर्थिक वर्षमा ६५ प्रतिशत भन्दाबढी स्थानीय तहसँग सम्बन्धित उजुरी परेका छन् ।