— लगातार दुई दिनदेखि पहिरो जाँदा धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवि–राँके सडक अझै सञ्चालनमा आउन सकेको छैन । उक्त सडक अन्तर्गत साँगुरीगढी गाउँपालिका–३ नाम्जे नजिक शुक्रबार बिहानदेखि पहिरो खसिरहेको हो ।
सडकमा थुप्रिएको माटोढुंगा पन्छाउने प्रयास भए पनि शनिबार बिहानदेखि पुनः पहिरो खस्न थालेपछि समस्या भएको छ । सडकको करिब ३ सय मिटर क्षेत्रमा सडकको पहिरो थुप्रिएपछि यातायात अबरुद्ध भएको प्रहरीले जनाएको छ ।
भेडेटार–रवि–राँके सडक निर्माणको जिम्मा लिएका भारतीय कम्पनी एप्को इन्फ्रा टेकले एक्स्काभेटर तथा जेसीभीलगायतका उपकरणले पहिरो हटाउने प्रयास गरे पनि सफल भएको छैन । शनिबार बिहान पुनः उक्त स्थानमा पहिरो गएपछि थप समस्या भएको त्यहाँ रहेका इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रमेश प्रधानले जानकारी दिए।
सडक माथिको भागबाट ढुंगा–माटो, रुख समेत झर्न थालेपछि यातायात पूर्णरुपमा बन्द भएको उनले बताए ।
सडक अवरुद्ध भएपछि हिजोदेखि रोकिएका सवारी साधन वैकल्पिक मार्गबाट गन्तव्यमा पठाउने कार्य भइरहेको छ । उक्त सडक थप चौडा पार्ने कार्य भइरहेको छ । सडकमा धरान तथा धनकुटाबाट चौबिसे क्षेत्र र पाँचथरसम्म नियमित यातायात सञ्चालन हुने गर्दछ । पहिरोका कारण दुई दिनदेखि भने सम्पूर्ण यातायातका साधन ठप्प रहेको छ ।