— सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको पोखराथोकमा जीप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
बगनासकाली गाउँपालिका–२ रोकाडाँडास्थित सिद्दार्थ राजमार्ग सडकखण्डमा भएको दुर्घटनामा माथागढी गाउँपालिका–१, चिदीपानी जाउँपोखराका ३६ वर्षीय खिलेश्वर घर्तिमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
राजमार्ग अन्तर्गत आर्यभञ्ज्याङ्बाट बर्तुङतर्फ आउँदै गरेको लु १ च ३७४० नम्बरको बोलेरो पिकअप जीप र विपरित दिशाबाट जाँदै गरेको लु ८४ प ४३४८ नम्बरको स्कुटरसँग ठोक्किएको हो ।
दुर्घटनामा स्कुटर चालक घर्ती मगर गम्भीर घाइते भएको र उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको माथागढी गाउँपालिका–१, चिदीपानीका वडाध्यक्ष राजकुमार पन्थीले बताए ।
मृतक खिलेश्वर घर्तीमगर भारतीय सेनामा कार्यरत रहेका थिए । जीपका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।