: रोल्पामा अफिम खेती नष्ट गरिएको छ। खेती गरेको आरोपमा एकजना पक्राउ परेका छन्। परिवर्तन गाउँपलिका-४ तातापानीका ६० वर्षीय धनसिंह वलीलाई शनिबार दिउँसो नियन्त्रणमा लिएको हो।
उनले खेतमा लगाएको लागुऔषध अफिम नष्ट गरिएको प्रहरीले जनाएको छ। १० मिटर लम्बाइ १५ मिटर चौडाइ रहेको खेतमा फुल्दै गरेको करिब ७ सय अफिमका बोट नष्ट गरिएको हो।
जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक विरेन्द्रवीर विश्वकर्माको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयबाट ७ जना र इलाका प्रहरी कार्यालय पाछाबाङबाट ७ जना प्रहरी टोली अफिम खेतीस्थल पुगी अफिम नष्ट गरिएको हो। उक्त स्थानमा प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री समेत पुगेका थिए।
विगत ४/५ वर्षयता रोल्पामा लुकिछिपी अफिम खेती हुँदै आएको छ। बर्सेनि प्रहरीले अफिम खेती नष्ट गर्ने गरेको छ। विगतमा अफिम खेती नष्ट गरिए पनि खेती गर्ने फेला परेका थिएनन्।