— सशस्त्र द्वन्द्वका बेला सुरक्षाकालागि प्रहरी कार्यालयमा रााखिएका ऐतिहासिक र पुरातात्विक महत्वका सुनका गरहगना, असर्फी कपिलवस्तु संग्रहालयलाई फिर्ता गरिएको छ ।
२४ वर्षपछि प्रहरीले पुरातात्विक महत्वका गहना संग्रहालयलाई जिम्मा लगाएको हो । फलामे सेफमा ताला लगाएर राखिएको उक्त सामग्री प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, शम्सेर दल गणका प्रमुख सेनानी बिदुरध्वज अधिकारी र पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष डिलाराम भुसाल र संग्रहालयका कर्मचारी शंकर धितालको रोहवरमा खोलिएको थियो ।
उक्त सेफलाई खोलेर संग्रहित सामग्री अवलोकन गरी जिल्ला प्रहरी प्रमुख उपरीक्षक सन्तोष आचार्यले कपिलवस्तु संग्रहालयकी प्रमुख शान्ति शेर्मालाई हस्तान्तरण गरेका हुन् । उक्त सेफमा तामाको भाडामा राखिएको २ थान असर्फी, १ थान राज औठी, १ थान बेरुवा औंठी र २ थान कढा रहेका थिए । यी सबै करिब २३ तोला सुनका रहेका छन् ।
त्यस्तै बेलायती महारानी भिक्टोरिया इम्प्रेस, एडवर्ड सप्तम र जर्ज पञ्चम लेखिएका सन् १८६२ देखि १९२० सम्मका चाँदीका ३४ वटा सिक्का पनि सेफमा रहेका थिए । त्यस्तै करिब ५ सय वर्ष पुरानो सुल्तान मोहम्मद मुमतिनका पालाका २८ वटा चाँदीका सिक्का सेफमा रहेका थिए ।
२०४२ सालअघि जिल्लाको शुद्धोदन गाउँपालिका–१ पतरिया (साबिकको पतरिया गाउँपञ्चायत वडा ५) को सूर्यवलिया र सोहसामा किसानले खेत खन्ने क्रममा उक्त सामग्री फेला परेका थिए । त्यसपछि स्थानीय प्रशासनले नियन्त्रणमा लिइर कपिलवस्तु संग्रहालयमा राखेको थियो ।
द्वन्द्वका बेला असुरक्षित हुँदा २०५८ चैत १८ मा संग्रहालयले प्रहरीलाई जिम्मा लगाएको थियो । द्वन्द्वका बेला ०६१ चैत २१ मा माओवादीले जिल्ला प्रहरी कार्यालयमा आक्रमण गर्दा पनि उक्त सेफ सुरक्षित रहेको थियो । सुरक्षा संबेदनशीलताकाकारण ऐतिहासिक पुरातात्विक महत्वको सुनचाँदीका सामग्री २४ वर्षसम्म सुरक्षित राखेर पुन: हस्तातरण गर्न पाउँदा खुसी लागेको बताए ।
संग्रहालयमा आएका यी सामग्री पुरातात्विक मूल्यमान्यता अनुसार संरक्षण गरेर संग्राहलयमा सर्वसाधारणलाई अवलोकनकालागि राखिने कपिलवस्तु संग्रहालयकी प्रमुख शान्ति शेर्मा बताइन् ।